काठमाडौं, २५ फागुन – प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले आफ्नो घरमा आक्रमण हुँदैमा चुनाव नरोकिने बताएका छन् । उनले जसरी पनि चुनाव हुने बताउँदै जस्तोसुकै चुनौतीको लागि पनि तयार रहेको स्पष्ट पारे ।
बिहान सप्तरी स्थित उनको घरमा मधेशी मोर्चाका कार्यकर्ताले आक्रमण गरेरका थिए । हिँजो प्रहरीको गोली लागेर मोर्चाका चार कार्यकर्ताको ज्यान गएपछि सप्तरी अशान्त बनेको छ ।
यादवले दिउसो पत्रकारहरूसँग कुराकानी गर्दै उश्रृङ्खल गतिविधि हुँदैमा चुनाव चाहिँ नरोकिने बताए ।
यादवले आफ्नो घरमा भाडामा बस्नेहरू बसिरहेको र आक्रमणबाट घरको सिसा फुटेको समेत जानकारी दिएका छन् ।
मधेशी मोर्चाले गर्ने थप आक्रमणबाट जोगाउन प्रहरीले कडा सुरक्षा प्रदान गरिरहेको उनले बताए ।