
काठमाडौं — फ्रान्सको राजधानी पेरिसमा रहेको ६ तल्ले एक भवनमा ग्यास विस्फोट हुँदा दुई अग्निनियन्त्रक र एक स्पेनी महिलाको मृत्यु भएको छ ।
ती महिलाको मृत्यु अस्पतालमा भएको हो । कम्तीमा ४६ जना अन्य घाइते भएका छन् । तीमध्ये नौजनाको स्थिति गम्भीर रहेको छ ।
शनिवार बिहान पेरिसको नाइन्थ एर्रोनडिस्मेन्टमा विस्फोट भएको हो ।
एकजना अग्निनियन्त्रक साढे दुई घन्टासम्म भत्केको भवनको अवशेषमा फसेका थिए र उनलाई सहकर्मीहरूले उद्धार गरेका थिए ।
‘बिहान ८ः३७ बजे ६ –यु ट्रेभिसमा ग्यास लीक भएको विषयमा अनुसन्धान गर्न फायर ब्रिगेड बोलाइएको छ । उनीहरू त्यहाँ हुँदा नै विस्फोट भयो,’ कास्टानेरले बताए । उनले जनताको जीवन रक्षा गर्नका लागि आफ्नो जीवन खतरामा पार्ने अग्निनियन्त्रकको साहसको प्रशंसा गरे ।
स्पेनी परराष्ट्रमन्त्री जोसेप बोरेलले भने, ‘मध्य पेरिसमा भएको एक विस्फोटमा एक स्पेनी नागरिक सहित तीनजनाको मृत्यु भएकोमा म साँच्चिकै दुःखी छु ।’
पेरिसका पब्लिक प्रोसिक्युटर रेमी हाइजले यस त्रासदीको अनुसन्धान शुरू गरिएको बताए । ग्यासको पोको पड्किँदा विस्फोट भएको उनको भनाइ छ । यो दुर्घटना जस्तो देखिएको उनले बर्ता र प्रहरीका विज्ञहरूले विस्फोटको सही
कारण पत्ता लगाउने उनको भनाइ छ ।
विस्फोट र त्यसपछिको आगोले भुइँतल्लामा रहेको बेकरीलाई ध्वस्त बनाएको थियो र माथिल्ला तल्लालाई पनि क्षति गरेको थियो । यसले नजिकैका अनेकौं भवनलाई गम्भीर रूपमा क्षतिग्रस्त गरेको थियो र झ्यालका शीशाहरू १००
मिटर परसम्म छरिएका थिए ।
सडकमा पार्क गरिएका वाहनहरू पल्टिएका थिए र विस्फोटको तोडमा आगो लागेका थिए ।
द गार्डियनबाट