२६ असार २०८३, शुक्रबार

दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

कात्तिक २०, २०७४
दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै
चितवन, २६ फागुन –सीमान्तकृत बालबालिकाका लागि दिइँदै आएको दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । पहाडी र ग्रामीण क्षेत्रका गरिब परिवारलाई लक्षित गरी दिइने खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको प्रधानाध्यापकहरु बताउँछन् ।

जिल्लामा कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १४२ वटा विद्यालयका छ हजार ८ सय ६२ विद्यार्थी खाजा कार्यक्रममा सहभागी छन् । सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाका अनुसार उनीहरुले विद्यालय समयमा दैनिक १५ रुपैयाँका दरले बन्ने खाजा वा नगद लिएर खाजा किनेर खाँदै आएका छन् । जसका लागि चैत मसान्तसम्मको एक करोड ४० लाख ५० हजार ९ सय ८५ रुपैयाँ निकासा भइसकेको छ ।

गत वर्षसम्म जिल्लाका पहाडी नौ गाविसका सबै प्राथमिक विद्यालय र माडीका तीन विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन गरिएको थियो । जसबाट सात हजार ७ सय बालबालिका लाभान्वित भएका थिए । यस वर्ष भने जिल्ला भरका सीमान्तकृत कक्षा ५ सम्म पढ्ने बालबालिकालाई दिवा खाजाबापत सो रकम उपलब्ध गराइएको खनियाले बताए ।

दारेचोक गाविसको धुसाहा राप्राविका प्रधानाध्यापक सोमलाल श्रेष्ठले खाजा पाउने भएपछि विद्यार्थी नियमित आउने गरेको बताए । सोही गाविसको राप्रावि तामिनका प्रधानाध्यापक कृष्ण घिमिरेले पकाउने ठाउँ नहुँदा विद्यार्थीलाई नगद दिएको बताउँदै पैसा पाउने आशाले नियमित विद्यार्थी आउने गरेको बताए । उनले भने, ‘विद्यार्थी आउन नपाउँदा अभिभावकले आफैँले बिदा मागिदिने गर्छन् । मिल्यो भने खाजाको पैसा दिन आग्रह गर्ने गर्छन् ।’

चण्डीभञ्ज्याङ गाविसको निमावि पामडाँडाका प्रधानाध्यापक ऐनबहादुर गुरुङले खाजा कार्यक्रमले बीचमा विद्यालय छाड्ने समस्या कम हुँदै गएको बताए । जिल्लामा प्रावि तहमा आठ प्रतिशत विद्यार्थीले बीचमा नै कक्षा छाड्ने गरेकाले यो कार्यक्रमले बीचमा कक्षा छाड्ने समस्यामा कमी आउने सहायक जिल्ला शिक्षा अधिकारी खनियाले बताए ।

गत वर्षसम्म पहाडी क्षेत्रका सबै बालबालिकाका लागि खाजा कार्यक्रम भए पनि यस वर्षबाट सीमान्तकृतका लागि मात्र छुट्याएपछि सोही भूभागमा बसोबास गर्ने उत्तिकै हैसियत भएका अन्य बालबालिका भने खाजा कार्यक्रमबाट वञ्चित बनेको खनियाले बताए । उत्तिकै हैसियत भएका कसैले खाजा खाइरहने कसैले टुलुटुलु हेर्नुपर्ने बाध्यता बनेको भन्दै उनले पहाडी विपन्न समुदायमा सबैलाई खाजा कार्यक्रममा सहभागी गराउँदा राम्रो हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्