
काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन् ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले पिता श्री ब्रम्हबाबाको ५० औं स्मृति दिवसका अवसरमा शनिवार आयोजित ‘शान्ति र समृद्धिका लागि योग’ विषयक कार्यक्रममा उनले अशान्त भएको ठाउँमा समृद्धि आउन नसक्ने बताए ।
अध्यक्ष तिमल्सेनाले एउटै धर्ममा पनि फरक–फरक सम्प्रदाय मान्ने मानिस रहेको बताउँदै धर्मका नाममा एक सम्प्रदाय र अर्को सम्प्रदायबीच हिंसा बढ्नु समृिद्धको बाधक हुने उल्लेख गरे । ‘राज्यका सबै नागरिक सुखी र खुशी नभएसम्म समृद्ध मुलुक निर्माण हुन सक्दैन,’ उनले भने । योगले मानव जीवनमा सकारात्मक ऊर्जा पैदा गर्ने र शान्ति र समृद्धिका लागि योग आवश्यक रहेको अध्यक्ष तिमल्सेनाले स्पष्ट पारे ।
पूर्वमन्त्री केशवलाल श्रेष्ठले समाजमा हुने सबै किसिमका भेद्भाव अन्त्य गरेर सबैलाई समान रुपमा बाँच्न सिकाउन सकेमात्र पनि मुलुकको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हरेक व्यक्तिले आफ्नो जीवनको शान्तिभन्दा पनि विश्व शान्तिको पक्षमा आवाज उठाउन जरुरी छ,’ उनले भने ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले हरेक व्यक्तिमा सकारात्मक सोच आउन सकेमात्र पनि मुलुकको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
केन्द्रका प्रमुख रामसिंह ऐरले मुलुकको हितका लागि ईश्वरीय सेवा आवश्यक रहेको बताउँदै योग शिक्षालाई विद्यालयको पाठ्यक्रममा समेत समावेश गर्नु जरुरी रहेको बताए ।