
कोलकाता– भारतका प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध शनिबार विशाल र्यालीको आयोजना गरे । कोलकाताका २३ क्षेत्रीय समूहले मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई चुनावमा पराजित गर्न ऐक्यबद्धता जनाएका हुन् ।
विपक्षीहरूले ‘मोदीलाई आगामी निर्वाचनमा पराजित गर्ने उद्देश्यले आफूहरू एकजुट भएको सन्देश दिन र्यालीको आयोजना गरिएको’ जनाएका छन् । आमनिर्वाचनको केही महिनाअघि पश्चिम बंगलाको कोलकातामा आयोजना गरिएको ‘युनाइटेड इन्डिया’ नामक र्यालीमा दसौं हजार मानिस सहभागी भएका थिए ।
कोलकाताबाट शुरु गरिएको र्याली गाम्रीण बंगालतर्फ लाग्दै गर्दा घण्टौंसम्म सवारी आवागमन अवरुद्ध भएको थियो । र्यालीमा भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी भने अनुपस्थित थिए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ‘नरेन्द्र मोदीको जनताविरोधी सरकारलाई पराजित गर्न सबै क्षेत्रीय दललाई एकजुट हुन’ आग्रह गरेकी छन् ।
सन् २०१४ को आमनिर्वाचनमा कोलकातामा भाजपाले विपक्षी भारतीय राष्ट्रिय कंग्रेस तथा क्षेत्रीय दललाई पराजित गरेको थियो । कृषि तथा रोजगारीका क्षेत्रमा मोदीले आफ्नो प्रतिबद्धताअनुसार कुनै कार्य नगरेको भन्दै केही महिनायता स्थानीयहरू रुष्ट छन् । जसका कारण हालै भएको चुनावमा भाजपाले चुनावमा नराम्रो हार बेहोरिसकेको छ ।