काठमाडौं–मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले शनिबार बेलुकासम्म कुनै जवाफ आयोजनालाई पठाएको छैन । आयोजनाले शुक्रबारसम्म कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्के ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल ठेकेदार कम्पनीलाई पठाएको थियो ।
‘ठेकेदार कम्पनीले हामीलाई कुनै रेस्पोन्स नै गरेन,’ आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने, ‘सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गरौँ, राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गरौँ भन्ने थियो, तर सम्भव भएन ।’
पुरानै ठेकेदार कम्पनी फर्काउन सके नेपाली सप्लायर्सको उठाउन बाँकी रकम उठाउन सजिलो हुन्छ भनेर आयोजनाले प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।