
काठमाडौं –नेपालका प्रतिष्ठित उद्यमी अरुणकुमार चौधरीले आफू र आफ्नो परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भएको भनी प्रकाशित रिपोर्टप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
शनिवार एक विज्ञप्ति प्रकाशित गरी चौधरीले कुनै पनि स्वीस बैंकमा आफ्नो खाता नरहेको र कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको स्पष्ट पारेका हुन् । यस्तै सूचनालाई आधार बनाएर ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको र त्यसबेला समेत यस विषयमा प्रष्ट पारेको उनले स्मरण गरेका छन् ।
‘अहिलेसम्म मेरो नेतृत्वमा सञ्चालित कुनैपनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरूमा म र मेरो श्रीमतीबाहेक अरु कसैको लगानी समेत छैन,’ चौधरीले विज्ञप्तिमा भनेका छन, ‘मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।’
हेरौं, विज्ञप्ति :
प्रेस विज्ञप्ति
खोज पत्रकारिता केन्द्र (खोपके)ले दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो । त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्बविदितै छ । सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको छ ।
यस विज्ञप्ति मार्फत् म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।
सो कम्पनीको शेयरहोल्डर भनी मेरा छोराहरूको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरूको उमेर १० र ५ वर्ष मात्र थियो ।
हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोराहरूलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए, हामीले खोलेनौं ।
ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरूपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला ।
त्यसैगरी, ट्याक्स हेभन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ । ती दुई कम्पनीमा हाम्रो साझेदारी छैन ।
मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन । कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन ।
यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ ।
अहिलेसम्म मेरो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरूमा म र मेरो श्रीमतीबाहेक अरू कसैको लगानी समेत छैन ।
मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।
म अटो मोविल्स, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी/व्यक्ति हुँ ।
मैले मेरा कम्पनीमार्फत् मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रूपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ
विदेशमा लगानीसम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रूपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत् पुनः एकपटक प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
अरुणकुमार चौधरी
२०७५ माघ ५ गते शनिवार