
सुर्खेत– फिरन्ते जीवन जीउने राउटे समुदायका बालबालिकाहरू कुपोषण र सुकेनासले प्रभावित हुन थालेका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा राउटे समुदाय बस्दै आएको बस्तीमा गरिएको स्वास्थ्य शिविरमा बालबालिकाहरू प्रभावित देखिएको शिविरमा गएका डाक्टरहरुले बताएका छन् ।
सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बसोबास गर्ने राउटे समुदायमा पुस २९ गते स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । राउटे समुदायका बालबालिकाहरूमा कुपोषण र सुकेनासको लक्षण देखिएको शिविरमा सहभागी कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. लोकेन्द्र थापाले बताए ।
‘राउटे बस्तीका अधिकांश बालबालिकाहरुमा कुपोषण र सुकेनासको लक्षण देखिएको छ भने बयस्क र वृद्धवृद्धाहरुमा चोट पटक, दम र खोकीजस्ता समस्या छन्’ डा थापाले भने, ‘राउटे समुदायको स्वास्थ्य राम्रो बनाउन हो भने महिनामा दुई पटक उनीहरुको स्वास्थ्य जाँच आवश्यक छ ।’ लोपोन्मुख जाती राउटे समुदाय बिस्तारै अरु नागरिक सरह जीवन बिताउनतर्फ अग्रसर हुन थालेका छन् ।
जंगलमा शिकार नपाइने, कन्दमुल, फलफूल र अन्य वनस्पति समेत अप्रयाप्त हुन थालेपछि उनीहरु सामाजिकीकरण हुन थालेको बताउँछन् । काठका भाडाकुडा बनाउने काठ र बन्यजन्तुको शिकार अभाव हुन थालेपछि अन्य समुदायसँग सम्बन्ध बढाउनु परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । पुर्खाले जंगलमै जीवन बिताएकाले आफूहरु पनि छोड्न नसकेको उनले बताए ।
‘हाम्रा पुर्खाले पूरै जिन्दगी जंगलमै बिताए, हाम्रो पुस्ता अन्य समुदायसंग खान र रमाउन सिक्यो’ उनले भने । कपडा नलगाउने गुन्यू र पछ्यौराको घुम्टो ओढ्ने रोउटे समुदायले आजभोलि कपडा सिलाएर लाउन थालेका छन् । बस्तीमा पुग्नेहरुसंग पैसा माग्ने, बस्तीमा तरकारी खेती, कुखुरा पालनलगायतका कार्यले राउटेलाई आधुनिकतासंगै आत्म निर्भर बनाउन मद्यत् पुगेको छ ।
सरकारले राउटे समुदायको स्थायी घर बनाएर बसोबासको व्यवस्था गर्ने भने पनि उनीहरु सहमत नभएको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर नेपालीले बताए । ‘राउटे समुदाय तत्काल स्थायी बसोबास गर्ने कुरामा सहमत छैनन्’ उनले भने । बिस्तारै उनीहरुलाई अन्य समुदायसंग समाजिकीकरण गरिने उनले बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा १ सय ४५ जनसंख्या छ । सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बस्ती सरेको छ ।
राउटे बस्तीमा अहेव र शिक्षक
पढ्न लेख्न नरुचाउने र औषधी मुलोका लागि जंगली जडिबुटीको भरपर्ने राउटे बस्तीमा एकजना अहेव र शिक्षिका कार्यरत रहेका छन् । सामाजिक विकास केन्द्रले राउटे बस्तीका लागि २ जना कर्मचारी खटाएको जनाएको छ ।
राउटे बस्तीमा स्वास्थ्य उपचारका लागि अहेव र बालबालिकाहरुलाई पढाउन शिक्षिका पठाइएको केन्द्रका अध्यक्ष हिरासिंह थापाले बताए । ‘शिक्षिकाले राउटेमहिला तथा बालबालिकासंग नजिक भएर अक्षर सिकाउने र सरसफाइ गर्नुपर्छ भन्ने सिकाउँछन्’ उनले भने ।
मन्त्री भन्छन्– जंगलको बीचमा राख्नुपर्छ
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल राउटे समुदायलाई जंगलको बीचमा राख्नुपर्ने बताउँछन् । ‘अहिलेकै जस्तो भन्दा पनि उनीहरुलाई राज्यले जंगल दिने र जंगलको बीचमा घर बनाइदिनुपर्ने देखियो’ उनले भने, ‘त्यस्तो गर्न सकेको खण्डमा उनीहरुलाई आवश्यकपर्ने लत्ता कपडा खाना दिन राज्यलाई सहज हुने छ। राउटे समुदायमा रहेका विद्यमान विकृतिहरु हटाउन सजिलो हुनेछ ।’
मन्त्री रावलले राउटे समुदायका लागि दिइने राहतलाई एकद्वार नीतिबाट वितरण गर्नुपर्ने बताए । ‘अहिले जसले पायो उसले राउटेको लागि राहतको नाउमा जे पायो त्यहि वितरण गर्ने परम्परा बसेको छ ।’ लोकान्तरसँग कुरा गर्दै मन्त्री रावलले भने, ‘तर अब एकद्वार नीतिबाट उनीहरुको आवश्यकता पहिचान गरेर मात्रै राहत दिनुपर्छ ।’