काठमाडौं, २७ फागुन- काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ।

निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए। आजको नयाँ पत्रिकामा खबर छ ।
प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए। ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भने, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन। बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ।’ थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो। प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो। ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उनले भने। अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उनले बताए।