
काठमाडौं – नक्कली प्रमाणपत्र पेश गरेर प्रहरी हवल्दार पदको जागिर खाने चन्द्रा भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं अन्तर्गत हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्ठा देखिन आएकाले आवश्यक कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरीमा छानबिनपछि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले बताए ।
प्रहरी हवल्दार भण्डारीले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त गरेको माध्यमिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी जवान पदमा स्थायी नियुक्ति लिई प्रहरी हवल्दार पदमा बढुवा समेत भएको पाइएको छ ।
‘निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ।