
काठमाडौँ–नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ ।
बैठकले सरकारको सो कार्यप्रति आपत्ति प्रकट गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकले अनशनरत डा गोविन्द केसीसँग यसअघि भएका सहमति पालना नगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न सत्तापक्ष उद्यत् रहेको पनि आरोप लगाएको छ । अनशनरत डा केसी आमजनताको स्वास्थ्यको हकका लागि अनवरत सङ्घर्षरत रहेको जनाउँदै उनको जीवनरक्षाका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेको छ ।
काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थिति बेगर संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको बैठकपछि निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधी हालसम्म पत्ता लगाउन नसक्नु लज्जाको विषय भएको भन्दै घटनाको अविलम्ब सत्यतथ्य छानविन गरी, अपराधी पत्ता लगाइ कडा कानूनी कारवाही गर्न पुनःमाग गरेको छ ।
सरकारलाई संघको ७२ घण्टे अल्टिमेटम
नेपाल चिकित्सक सङ्घले अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेको छ । उसले माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै सो अवधिमा माग पूरा नभए आइतबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सङ्घले डा केसीको जीवन रक्षाका लागि तत्काल कदम चाल्नसमेत सरकारसँग आग्रह गरेको छ ।
बूढीगण्डकी आयोजनाले १९ अर्ब मुअब्जा वितरण गर्यो
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।
आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।
चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उनले बताए । आयोजना प्रमुख कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी दिए ।
विश्व बैंकमा नेपालको शेयर थप
नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीदको निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ ।
मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय बिहीबार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिए ।
यस्तै युरोपेली सङ्घ डेलिगेशन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९ लाख ९६ हजार १९९ युरो स्वीकार गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । उक्त सहयोगले १५ नगरपालिकाको क्षमता अभिवृद्धि र भाौतिक विकास हुनेछ ।
यसैबीच बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताएका छन् ।
सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि बढेको विधेयकमा रहेका प्रावधान पर्याप्त अध्ययन नगरी विरोध गरिएको दाबी गरे । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ ।
उनले भने, ‘सम्बन्धित समितिमा मतदानका आधारमा निर्णय भई संसद्मा गइसकेकोले विधेयक अब संसद्को सम्पत्ति र क्षेत्राधिकारमा परेको छ । त्यो प्रक्रियाबाट पारित हुन्छ । फिर्ता हुने सम्भावना छैन ।’
उनले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने, मेडिकल कजेल गैरनाफामुखी हुनुपर्ने, विद्यार्थीको कोटा निर्धारण, विशेष छात्रवृत्ति, विपन्न विद्यार्थीलाई सहुलियतमा ऋणजस्ता जनमुखी प्रावधान राखिएको विधेयकलाई माफियामुखी भएको भनिनु आफूले बुझ्न नसकेको भनी टिप्पणी गरे ।
घुस मागेको अभियोगमा पक्राउ
नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ ।
आयोगले प्रधानाध्यापक गिरीलाई रु १२ हजार घुससहित विद्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी प्रअको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यस्तै आयोगले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तै आयोगले जनता माध्यमिक विद्यालय बलरा ५, सर्लाहीका माध्यमिक शिक्षक देवनारायण ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सातदोबाटो–नारायणगोपाल मेट्रो रेल बनाइने
सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ ।
कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले बिहीबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।
विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।
सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ ।
वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बिहीबारदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा बिहीबार तीन जिल्लामा शाखा विस्तार गरेको हो ।
जाजरकोट, रुकुम र मुस्ताङमा सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।
आगलागीमा रु डेढ करोड क्षति
तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा बिहीबार आगलागी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।
लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटाको गारो र जस्ताको छानो भएको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा छेउका दुई घरमा समेत क्षति भएको छ । छिमेकी रेनुका गुरुङ र फूलमाया गुरुङको घरमा समेत क्षति पुगेको हो ।
आगो निभाउने क्रममा स्थानीयवासी ५० वर्षीय गोपाल गुरुङ घाइते भएका छन् । उनको स्थानीय वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
शहीद सप्ताहमा शास्त्रीको स्मरण
प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा बिहीबारदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।
सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित पचलीमा उनलाई स्मरण गरिएको छ । उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेकामा अब उनको पूर्णकदको शालिक स्थापना गरेको छ । करीब रु १० लाखको लागतमा निर्मित सो शालिकको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरणसमेत गरे ।