१९ असार २०८३, शुक्रबार

नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका, ८ वटा कानूनको मस्यौदा स्वीकृत

नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका, ८ वटा कानूनको मस्यौदा स्वीकृत

पोखरा –पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरू नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरूलाई सभामा प्रस्तुत गरेका थिए ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो । 

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ । 

नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए ।

जनताको चाहनाअनुरूप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए ।

नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्