
काठमाडौं – एक्रेटिभ मिडियाले आयोजना तथा निर्माण गरेकोे राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फिनालेको दोस्रो शृंखलाको प्रशारण निश्चित भएको छ ।
कार्यक्रम माघ ११ गते शुक्रवार बेलुकी साढे ८ बजे एपीवान एचडी टेलिभिजनमा र एक्रेटिभ मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत् साँझ पौने ८ बजेदेखि प्रशारण हुँदैछ ।
प्रान लिची ड्रिन्क मुख्य प्रायोजकका रुपमा रहेको पब्लिक स्पीकर नेपाल २ को अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट ६ प्रतियोगी फरक–फरक विषयमा केन्द्रित रहनेछन् । मकवानपुरकी दिपशिखा घिमिरेको विषय यौन तथा प्रजनन स्वास्थ्य रहेको छ भने काठमाडौंका प्रज्ववल विक्रम विष्ट नेपालको व्यापार घाटाका विषयमा बोल्दैछन् ।
धरानका रमेश प्रसार्ईं पूर्वीय सभ्यता र नेपाली समाज, काठमाडौंका प्रनव काफ्ले श्रमको सम्मान, नयाँ नेपालको अभियान, मोरङकी मञ्जीता गुरुङ कृत्रिम बौद्धिकता र काठमाडौंकी मानसी ठाकूर अदृश्य घटना विषयमा आफ्नो वक्तृत्व प्रस्तुत गर्दैछन् ।
कार्यक्रमका निर्णयक महानायक राजेश हमाल, लैंगिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ र एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ अफिसर डा. रोशन राठीले प्रदान गरेको अंकको आधारमा उत्कृष्ट ६ प्रतिस्पर्धी मध्येबाट विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेता छनौट हुनेछन् । नेपाल लाईफ इन्स्योरेन्सका सञ्चार तथा ब्रान्डिङ विभागका प्रमुख मेघेन्द्र प्रकाश गिरी समेत अतिथि निर्णायकका रुपमा कार्यक्रममा उपस्थित हुनेछन् ।





पब्लिक स्पीकर नेपाल २ को विजेतालाई पुरस्कार स्वरुप ३ लाख रुपैयाँ प्रदान गरिने छ भने प्रथम उपविजेताले २ लाख रुपैयाँ र द्वितीय उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथमा १ प्रतिस्पर्धीलाई जनताबाट प्राप्त मतका आधारमा पब्लिक च्वाईस अवार्डको उपाधीले समेत सम्मान गरिने छ ।
कार्यक्रमका निर्माता तथा एक्रेटिभ मिडियाका प्रमुख हरि पोखरेलले काठमाडौं पब्लिक स्पीकर नेपाल २ ले सातै प्रदेशका युवालाई समेट्दै राष्ट्रको महत्त्वपूर्ण विषयमा उनीहरूको ध्यान आकृष्ट गराउनका साथै ती विषयमा रहेको धारणा अभिव्यक्तिका लागि एक राष्ट्रिय स्तरको मञ्च प्रदान गरेको बताए ।