काठमाडौं- चलचित्र ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच मल्टिस्टारर चलचित्रको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा हरिवंश आचार्यको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, निरुता सिँह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेल फिचर्ड छन् ।
मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रलाई किरणका छोरा सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि हरिवंशकै छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
रमिला आचार्य, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ निर्मातामा रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् भने चलचित्रमा मित्र डि. गुरुङको सम्पादन छ । बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले मानिसले दाल भात तरकारी खान गर्ने संघर्षको कथा भन्छ ।