
घोराही- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रेस बलियो नभए लोकतन्त्र पनि बलियो नहुने बताएका छन् ।
लोकतन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै पोखरेलले मिडिया बिना लोकतन्त्र धरापमा पर्ने धारणा राखे । 'लोकतन्त्र सुरक्षित गर्न नसके मिडिया पनि अपाङ्गजस्तै बन्छ', पोखरेलले भने ।
पत्रकार महासङ्घ प्रदेश नम्बर ५ ले आयोजना गरेको दुई दिने प्रादेशिक सञ्चार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अब पत्रकार महासङ्घले स्वतन्त्र पत्रकारिताको पक्षमा व्यापक बहस चलाउनुपर्ने भन्दै गतल नियतले सञ्चार माध्यममा लगानी गर्नेलाई रोक्न पहल गर्नुपर्ने बताए । गलत नियतका साथ नभई मुद्दा र विषयवस्तुको आधारमा सञ्चार माध्यममा समाचार र सूचना आउनुपर्ने पोखरेलको धारणा छ ।
'एउटा पत्रकारले सम्पादकको दबाबबिना र एउटा सम्पादकले लगानी कर्ताको प्रभाव बिना समाचार लेख्ने हैसियत राख्छकी राख्दैन ?' प्रश्न गर्दै पोखरेलले भने, 'सञ्चार क्षेत्रलाई लगानीकर्ताको प्रभावबाट मुक्त गराउन सके पत्रकार महासङ्घको गरिमा बढेर जान्छ ।' उनले पछिल्लो समय विज्ञापनसँग समाचार साटिन थालेकोप्रति चिन्ता व्यक्त गरे ।
महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राष्ट्रियताको पक्षमा महासङ्घको पहिलो प्राथमिकता रहने बताए । कार्यक्रम प्रदेश नम्बर ५ का १२ जिल्लाका पत्रकारको सहभागिता छ । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक संरचनामा मिडिया, सामुदायिक रेडियोसहित पत्रकार र पत्रकारिता क्षेत्रबारे छलफल हुने बताइएको छ ।