०९ साउन २०८३, शनिबार

रातानाङ्गला र गुराँसेमा बिदाको दिन हिउँ खेल्नेको लस्कर, भीडभाडले ट्राफिक जाम

माघ १२, २०७५
रातानाङ्गला र गुराँसेमा बिदाको दिन हिउँ खेल्नेको लस्कर, भीडभाडले ट्राफिक जाम

सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट शनिवार आन्तरिक पर्यटक रातानाङ्गला र गुराँसेमा हिउ खेल्न पुगेका छन् ।

वीरेन्द्रनगरका कृष्ण आचार्यले आफ्ना साथीसहित बिदा मनाउन र हिउँसँग रमाउन गुराँसे आएको बताए । ‘बिदाको दिन पनि भयो । गुराँसेमा हिउँ पनि आयो,’ आचार्यले भने, ‘सोही मौका पारेर हामी यहाँ आएका हौं । मज्जाले हिउँ खेलियो ।’

छिन्चुबाट हिउँ खेल्न आएकी रमिता शाहीले आफूहरू हिउँ खेल्न भनेर आएपनि सास्ती पाएको बताइन् । ‘हिउँ खेल्न भनेर पूरै परिवारसहित रातानाङ्गला जाने भनेर आएका थियौं,’ उनले भनिन्, ‘जाममा ३ घण्टा परेकाले खासै सोचेजति हिउँ खेल्न पाइएन ।’

रातानाग्लादेखि ३ किलोमिटर वीरेन्द्रनगरतर्फ सवारीसाधनका कारण जाम लागेपछि ट्राफिक प्रहरीलाई जाम हटाउनै हम्मेहम्मे परेको थियो । सुर्खेत–दैलेख सडकखण्ड आफैं पनि साँघुरो भएको र त्यसैमा हजारौं सवारीसाधन एकैपटक जाँदा जाम भोग्नुपरेको वीरेन्द्रनगरका तेजबहादुर थापा बताउँछन् । ‘सडक साँघुरो भएको र सवारीसाधन पार्किङ सही ढंगले नगरिँदा पर्यटकले सास्ती भोग्नुपरेको हो,’ थापाले भने, ‘यसको समाधानको विकल्प भनेकै सडक फराकिलो बनाउनु हो ।’

सुर्खेतबाट कालिकोट जान भनि हिँडेका कर्मराज विश्वकर्माले आफू चढेको गाडी ३ घण्टा रोकिएको बताए । ‘मैले शनिवारै साँझ जसरी पनि कालिकोट पुग्नैपर्ने थियो,’ उनले भने, ‘छोटोबाटो भनेर यो बाटो आइयो । जाममा फसियो ।’ 

रानीमत्तामा लामो जाम भएको भन्दै प्रहरीले कपासे तथा छेडामा धेरै गाडीलाई माथि जान दिएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्