
काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समितिमा वाइडबडी खरिदमा भएको भ्रष्टाचारको विषयमा कुरा उठेको छ । वाइडबडीमा ठूलै भ्रष्टाचार भएको र त्यसमा कांग्रेस चुप रहेकोप्रति कांग्रेसकै केन्द्रीय समिति सदस्यहरूले खबरदारी गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आन्दोलनका कार्यक्रमहरू तय गर्नका लागि भन्दै केन्द्रीय समिति बैठक बसेको थियो । सरकारले बलपूर्वक चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेसका भातृसंगठनहरू आइतबारदेखि नै आन्दोलन शुरू गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङ र अर्जुन नरसिंह केसीले वाइडबडी खरिदकाण्डमा कांग्रेस चुप रहेको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । महासमितिको बैठक अघि नै वाइडबडी खरिदमा भएको भ्रष्टाचारको विरुद्धमा सशक्त आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस अहिले तै चुप, मै चुपको स्थितिमा छ ।
बैठकमा सहभागी एक सदस्यका अनुसार निर्मला पन्त को हत्यारा पत्ता लगाउनुपर्ने र गोविन्द केसीको जीवनरक्षाको माग मात्र नभएर देशैभर देखिएका भ्रष्टाचारको विरुद्धमा पनि कांग्रेसले सशक्त अभियान चाल्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । 'वाइडबडी खरिद काण्डमा भएको भ्रष्टाचारको कुरा नउठाए कांग्रेसले के का लागि विरोधसभाको आयोजना गर्नुपर्यो ?' भन्दै धनराज गुरुङले केन्द्रीय समिति बैठकमा प्रश्न गरेका थिए ।
'महासमिति बैठकका प्रमुख एजेण्डामध्ये वाइडबडी खरिदमा भएको भ्रष्टाचारको सशक्त विरोध गर्नुपर्ने विषय एउटा प्रमुख एजेण्डाको रूपमा थियो,' एक केन्द्रीय सदस्यले भने, 'अनपेक्षित रूपमा हाम्रा नेताहरू चुप रहेकोमा हाम्रो आपत्ति छ ।'
कांग्रेसले निर्मला पन्त हत्याको दोषी पत्ता लगाउने र गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आगामी माघ २१ गते देशका ७७ वटै जिल्लामा विरोध सभा गर्ने तयारी गरेको छ ।
केन्द्रीय समिति बैठकले अरू के के निर्णय गर्यो ?
(१) गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।
(२) माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ -
(क) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार ।
(ख) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।
(ग) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
(घ) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
(ङ) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
(च) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १४ गते दिनको १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ ।