
काठमाडौं, २७ फागुन - संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले देशभरका गाविसहरू विघठन गरेका छन् । देशभरमा निर्धाण गरिएका ७ सय ४४ स्थानीय तह राजपत्रमा प्रकाशित भएसँगै देशभरका गाविसहरू विघठन गरिएको हो ।
अब गाविसको काम गाउँपालिका, नगरपालिका वा वडाबाट हुने छन् । थापाले शुक्रवार विहान पत्रकार सम्मेलन गर्दै पुरानो स्थानीइ संरचनालाई भंग गरेका हुन् ।
पुनर्सरचना आयोग र सरकारले गठन गरेको कार्यदलको सुझावको आधारमा सरकारले देशभरमा ७ सय ४४ वटा स्थानीय तह कायम गरेको थियो ।
गाविसहरू विघठन भएसँगै गाविसको काम वडाबाट हुने छ ।
यसैबीच मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीहरुलाई विदा नबस्न सर्कुलर जारी गरेको छ । विदा बसेको भएपनि तुरुन्त काममा फर्किन आग्रह गरेको हो ।
गाविसको विघठन गरिएसँगै स्थानीय तहमा कर्मचारीको व्यवस्था गर्नुपर्ने भएकोले स्थानीय विकास अधिकारीलाई काममा लाग्न निर्देशन जारी गरिएको हो ।
सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मा स्थानीय विकास अधिकारीलाई दिएको छ । गाविस विघठन भएसँगै बेरोजगार बनेका गाविस सचिवलाई आइतवार देखि जिल्ला विकास समितिले गाउँ पालिका तथा नगरपालिकाका वडाहरूमा खटाउने छ ।
देशभरका गाविसहरू वडामै सिमित भएका छन् । अब गाविसको काम वडाबाट हुने छ । तर वडा भन्दा माथि गाउँ पालिका रहने छ ।
गाविसहरु विघठन भएसँगै कार्यालयका साइन बोर्ड, निशाना छापा, लेटरप्याड, नागरिक बडापत्र लगायतमा हेरफेर आवश्यक हुन्छ । सोही कारणलेपनि एलडिओहरूलाई स्थानीय निकायसँग समन्वयका लागि जिल्लामा हाजिर हुन भनिएको हो ।