२७ जेठ २०८३, बुधबार

डाक्टरहरूलाई शिक्षण अस्पतालले भन्यो- अस्पताल परिसरमा अनशन नबस्नू

माघ १४, २०७५
डाक्टरहरूलाई शिक्षण अस्पतालले भन्यो- अस्पताल परिसरमा अनशन नबस्नू

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पताल परिसरमा अनशन नबस्न डाक्टरहरूको ध्यानाकर्षण गराएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा आजबाट डाक्टरहरूले शुरू गरेको रिले अनशनप्रति अस्पतालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

'नेपाल चिकित्सक संघले यस अस्पताल परिसरमा रिले अनशन बस्न लागेको भनी प्रकाशित विज्ञप्तिप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ,' अस्पतालद्वारा सोमबार जारी अपिलमा भनिएको छ ।

यद्यपि चिकित्सकहरूले भने आजैबाट अनशन शुरू गरिसकेका छन् । उनीहरूले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् ।

'अस्पताल परिसरमा हुने अनशन, रिले अनशन, विरोध प्रदर्शन जस्ता कार्यहरूले सर्वसाधारण जनतालाई स्वास्थ्योपचार सुविधा प्रदान गर्न समस्या हुने भएको प्रति ध्यानाकर्षण गराउँदै शिक्षण अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हडतालको कार्यक्रम नराखिदिनुहुन र देशको ऐन एवं चिकित्सकीय नैतिक दायित्व अनुरूप सदाझैं नियमित स्वास्थ्योपचारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु,' अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खडगाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएका सहमति विपरीतका कतिपय विषय समेटिएको भन्दै डा. केसीले गत पुस २५ गतेबाट अनशन शुरू गरेका हुन् ।

डा. केसीको अनशन जारी रहेकै अवस्थामा विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगिसकेको छ । राष्ट्रियसभाले समेत उक्त विधेयक स्वीकृत गरिसकेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले ऐनको रूप लिनेछ ।

हेर्नुहोस्, अस्पतालको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्