
काठमाडाैं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।
देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो। महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । अग्रिम महाधिवेशन माग गर्दै आएको पौडेल पक्ष देउवाको जवाफबाट असन्तुष्ट बनेको छ ।
पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् । ‘ निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मा यो नेतृत्व र कार्यसमितिले लिइसकेकाले कार्यकाल थप्नु अनैतिक हुन्छ,’ पौडेलले भने। उनले चौधौं महाधिवेशन कार्यतालिकाअनुसार सम्पन्न गर्न आग्रह गरेका छन् ।
‘अन्यथा आउँदा स्थानीय, प्रदेश र संघीय चुनाव सफल गर्न हामीलाई मुस्किल पर्छ,’ केन्द्रीय समितिमा पौडेलले पेस गरेको लिखित प्रस्तावमा भनिएको छ । विधानअनुसार देउवाको कार्यकाल २०७६ साल फागुन अन्तिममा सकिन्छ । वरिष्ठ नेता पौडेलले प्रस्ताव गरेको मिति अग्रिम नभएर नियमित महाधिवेशनकै हो।
देउवाले संविधान र पार्टी विधानले दिएको सुविधाअनुसार कार्यकाल थप डेढ वर्ष लम्ब्याउन चाहेका छन् । चार वर्षको कार्यकालमा आगामी फागुनबाट उनको तीन वर्ष बित्दै छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा हरेक राजनीतिक दलले ५ वर्षमा केन्द्रीय पदाधिकारीको निर्वाचन गराउनुपर्ने व्यवस्था गरेको छ । तर, असाधारण परिस्थिति परे थप ६ महिना बढाउनसक्ने व्यवस्था संविधानमैछ । पार्टी विधानमा भने थप एक वर्ष बढाउन पाउने व्यवस्था छ ।
देउवानिकट सहमहामन्त्री प्रकाशशरण महतले भने सभापति देउवाको भनाइ ‘ठट्टा’ गर्ने सिलसिलामा आएको बताए । वाइडबडीलगायत भ्रष्टाचारका विषयमा सभापति देउवा रहस्यमय ढंगबाट बोल्न छाडेकोमा पनि पौडेलले असन्तुष्टि प्रकट गरेका छन् । उनले केन्द्रीय समिति बैठकमा लिखित प्रस्तावमै यो मुद्दालाई पार्टीले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।, कान्तिपुरमा खबर छ ।
बसमा करेन्ट लागेर मृत्यु भएकाका परिवारलाई राहत दिइने
सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
यस्तै मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी रहेका दुईमध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत उपलब्ध गराउने छ ।
रिले अनशन बसेका डाक्टर दोहोरो निशानामा
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै सोमबारदेखि रिले अनशन शुरू गरेका डाक्टरहरूविरुद्ध बिरामीका आफन्तले प्रदर्शन गरेका छन् । अस्पातलमा बिरामीलाई असर पर्ने गरी अनशन बस्न नहुने भन्दै सेवाग्राहीले विरोध प्रदर्शन गरेका हुन् ।
नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरू बिरामी जाँच्न नआएपछि सेवाग्राही प्रदर्शनमा उत्रिएका छन् । चिकित्सकहरूको आन्दोलनका कारण सयौं बिरामी मर्कामा परेका छन् । डाक्टरहरू उपचारमा किन नआएको भन्दा अस्पतालका तर्फबाट जवाफ नआएपछि विरोध प्रदर्शन गर्नुपरेको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राही ईश्वर पोखरेलले बताए ।
डाक्टरहरू अनशनमा बसिरहेको अगाडि पुगेर सेवाग्राहीले नारा लगाएका थिए । यता अस्पताल प्रशासनले पनि अस्पताल परिसरमा अनशन नबस्न ध्यानाकर्षण गराएको छ । ‘नेपाल चिकित्सक संघले यस अस्पताल परिसरमा रिले अनशन बस्न लागेको भनी प्रकाशित विज्ञप्तिप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ,’ अस्पतालद्वारा सोमबार जारी अपिलमा भनिएको छ ।
चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएका सहमति विपरीतका कतिपय विषय समेटिएको भन्दै डा. गोविन्द केसीले गत पुस २५ गतेबाट अनशन शुरू गरेका हुन् । डा. केसीको अनशन जारी रहेकै अवस्थामा विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगिसकेको छ । राष्ट्रियसभाले समेत उक्त विधेयक स्वीकृत गरिसकेको छ ।
सामाजिक सुरक्षा योजनाः ६२५ रोजगारदाता कोषमा सूचीकृत
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ । आइतबारसम्म सामाजिक सुरक्षा कोषमा काठमाडौँ उपत्यकासहित प्रदेश नं ३ का ६२५ रोजगारदाता कम्पनी सूचीकृत भइसकेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडाँै उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई यही मङ्सिर ६ देखि आगामी फागुन ६ गतेभित्र कोषमा सूचीकृत भइसक्न आग्रह गरेको थियो ।
कोषले प्रत्येक सूचीकृत रोजगारदातालाई छुट्टाछुट्टै सूचीकरण नम्बर प्रदान गरेको छ । कोषमा सूचीकृत भएकामध्ये २७२ रोजगारदातालाई सूचीकृत प्रमाणपत्र प्रदान गरिएको छ ।
पौने तीन करोड ठगी गर्ने पक्राउ
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ऋणी ३६ वर्षीय नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नविन श्रेष्ठ, ४२ वर्षीय कृष्णबहादुर खत्री, मूल्याङ्कनकर्ता पर्साका नरेशमान सिंह अमात्य र बैंकका शाखा प्रबन्धक काठमाडौँका सरिनशङ्कर श्रेष्ठ छन् । ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले यातायात कार्यालयबाट प्राप्त प्रतिलिपि ब्ल्यू बुकमा गलत विवरणसहित सही छाप गरी सुरक्षणस्वरुप बैंकमा धितो राखी विभिन्न ११ वटा ऋणीको नाममा नक्कली कागजात बनाएर ठगी गरेको बताए ।
राष्ट्रपतिसमक्ष न्याय परिषद्को वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवा आयोगले आर्थिक वर्ष २०७४÷०७५ को आफ्ना वार्षिक प्रतिवेदन पेश गरेको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जवराले सो प्रतिवेदन पेश गर्नुभएको हो । यो वर्ष परिषद्को १९ वटा बैठक बसी विभिन्न विषयमा गरी ७० वटा प्रस्तावमा छलफल भई निर्णय भएको प्रतिवेदनमा उल्लेख छ ।
दीपक मनाङेद्वारा शपथ
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए ।
तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्यमा विजयी भएका उनी शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन । सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए ।
सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने ठहर
उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको मुद्दा पक्षमा आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको इजालसले सोमबार सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने फैसला सुनाएको अदालतका रजिस्टार बाबुराम दाहालले जानकारी दिए ।
आदेशमा भनिएको छ, “नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते भएको द्विपक्षीय समझदारी पत्रमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा नेपाल सरकारले ३७ वटा मेडिकल संस्थालाई वैैधानिकता दिएको देखिएको छ ।” सरकारले बायोमेट्रिक, भिएलएन, माइग्राम, ओएससी, जिआइसिसी लगायतका संस्थाले मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज
नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।
कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो । नेपालका कप्तान पारस र करण केसीले दुई÷दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए ।
सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।