
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रादेशिक कार्यालयको मंगलवार उद्घाटन गरिएको छ ।
कार्यालयको उद्घाटन स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले गरेका हुन् ।
कर्यक्रममा प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अन्य मन्त्री, प्रतिनिधि सभाका संसद, प्रदेश सभाका सदस्य, पार्टीका विभिन्न तहमा रहेका कार्यकर्ताको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रअघि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कार्यालयमा रहेको धुलोलाई कुचो लगाएर सफा गरेकी थिइन् ।
बिहान ७ बजे कार्यालयको उद्घाटन गर्ने भनिएपनि कार्यालयको उद्घाटन भने करीब ८ बजे भएको थियो । ७ बजे नै कार्यालय पुगेकी मन्त्री केसीले आधा घण्टा कार्यालय सफाइमा बिताइन् ।

‘सबैभन्दा ठूलो त पार्टी नै हो,’ उनले भनिन्, ‘पार्टीकै कारण मन्त्री भएका हौं । हामीले हाम्रो पार्टीको कार्यालय सफा नगरे कसले गर्ने ?’ उनले कार्यालयमा फोहोर भएका कारण सफा गर्न कुचो लगाएको बताइन् ।
मन सफा गर्नुस् : इन्चार्ज
कार्यालय उद्घाटनपश्चात् सबै नेता आफ्नो कार्यकक्षमा गएर १ पटक बसे । उनीहरूलाई प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले कार्यकक्ष देखाइरहेका थिए । तर प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा आफ्नो कार्यकक्षमा पहिले नै प्रवेश गरिसकेका थिए ।

तर सचिव शर्मा कुर्सीमा नबसेर सोफामा बसे । इन्चार्ज शर्मा र सहइन्चार्ज कँडेल उनको कार्यकक्षमा आए र भने, ‘अब मन शान्त पार्नुहोस्, कुर्सीमा बस्नुहोस् ।’ यसअघि शर्माले आफू सचिव पदमा नबस्ने भनेर सामाजिक सञ्जालमा लेखेका थिए । दुवै नेताले त्यसैलाई आधार मान्दै व्यंग्य गरेका हुन् ।
सबैको सहयोग पाउने अपेक्षा : अध्यक्ष बोगटी
अध्यक्ष गोरख बोगटीले आफूले सबैबाट सकारात्मक सहयोग पाउने अपेक्षा व्यक्त गरे ।
कार्यालय सञ्चालनमा आएसँगै जनताका जनगुनासा अब कार्यालयमै बसेर सुन्ने र समाधान गर्ने अध्यक्ष बोगटीले बताए ।