२९ असार २०८३, सोमबार

सभामुख महरासँग नवनियुक्त साउदी अरेवियाका राजदूतको शिष्टाचार भेट

सभामुख महरासँग नवनियुक्त साउदी अरेवियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं–सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित साउदी अरेवियाका नवनियुक्त राजदूत मुसैद एस. अल मारवानीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मंगलबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मारवानीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । 
भेटका अवसरमा सभामुख महराले नेपाल–साउदी अरेबियाको कूटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको भन्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताउनुभयो । साउदी अरेवियन राजदूतको रुपमा नेपाल आउनुभएका मारवानीलाई स्वागत गर्नुहुँदै सभामुख महराले राजदूतको रुपमा मारवानीको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
‘नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध लामो समयदेखि रहिआएको छ, सभामुख महराले भन्नुभयो, ‘दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउन तपाईंको भूमिकाले विशेष महत्व राख्नेछ ।’ 
नेपालको संसदीय परम्परा, संघीय संसदको संरचना, शासन पद्धतिलगायतको जानकारी दिनुहुँदै सभामुख महराले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताउनुभयो । 
‘हामीले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौं, उहाँले भन्नुभयो, ‘संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध बिस्तार गर्न सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।’
थुप्रै नेपालीहरु रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको चर्चा गर्नुहुँदै सभामुख महराले नेपाली कामदारहरुको रोजगारीको अवसर जुटाइदिएकोमा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । नेपाली कामदारहरुले साउदीको विकास निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सभामुख महराले नेपाली कामदारहरुको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन आग्रह गर्नुभयो ।
सभामुखसँगको भेटका क्रममा नेपालका लागि साउदी अरेबियाका राजदूत मारवानीले साउदी अरेबिया र नेपालको सम्बन्ध घनिष्ठ रहेकोमा खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा सम्बन्ध थप मजबुत हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन आफूले सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
राजदूत मारवानीले साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । 
भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्