काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा सत्ता र पक्ष प्रतिपक्षको मुठभेडले नेपालको राजनीतिक व्यवस्था नै जोखिममा पर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शुरूमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका जीतेन्द्र देवले देशलाई राजनीतिक दुर्घटनामातर्फ जान नदिन आग्रह गरे ।
‘मुठभेडको राजनीतिले राजनीतिक प्रक्रियालाई डिरेल गर्न सक्छ, कांग्रेस र कम्युनिस्ट बीचको मुठभेडले देशको राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्न सक्छ,’ उनले भने ।
उनले डा. केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । उनले प्रतिनिधि सभाबाट पारित विधेयक विधायन व्यवस्थापन समितिमा पठाएर देशलाई निकास दिन आग्रह गरे ।
सांसद् देवले भारतीय पूर्वसभामुख सोमनाथ चटर्जीबाट सिक्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई सुझाव दिए । ‘कांग्रेसबाट सञ्चालित भएर डा. केसीले आन्दोलन गरेका होइनन्, केसी कांग्रेस भएको भए कांग्रेसको नेताको पालामा अनशन बस्नुहुन्थ्यो ?’ देवले प्रश्न गरे, ‘माफियाको चंगुलबाट मुक्त भएर सोचौं, व्यक्तिप्रति आशक्त भएर होइन ।’