
विराटनगर– सात महिनाको शिशु बोकेर सरोजादेवी सरदार स्थानीय स्वास्थ्य चौकीमा बुधबार बिहानै लाइन बस्न पुगिन् । तीन सन्तानकी आमा उनलाई थप सन्तानको अब रहर छैन । त्यसैले स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा उनी परिवार नियोजन गर्न चाहान्थिन् ।
त्यसैले उनी स्वास्थ्य चौकी पुगेकी हुन् ।
मोरङको कटहरी गाउँपालिका भौडाहामा शहीद दिवसको दिन परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको थियो । त्यहाँ सरोजादेवीजस्तै करिब ६० जना महिलाको उपस्थिति थियो । शिविरमा बन्ध्याकरण गराउन आउनेको भीड थामिसक्नु थिएन तर पुरुष भने थिएनन् ।
रमिता हेर्ने बाहेक सेवा लिन आउने पुरुष एक जना पनि थिएनन् र कसैले नाम दर्ता पनि गराएनन् ।
खेतबारीमा माटोको काम गर्ने, फ्याक्ट्रीमा भारी काम गर्ने पुरुषले परिवार नियोजन गर्न हुँदैन भन्ने मान्यता गाउँमा रहेको देखिन्थ्यो ।
स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्नु सहज मानिन्छ । मोरङमा मङ्सिर २४ गतेदेखि सञ्चालन भएको बन्ध्याकरण शिविरमा पुरुषको संख्या भने अत्यन्त न्यून छ ।
विराटनगर महानगरपालिकाको बुढिगंगा गाउँपालिका, स्वास्थ्य चौकी बुधनगर, मझारे, जिल्ला अस्पताल रंगेली, झुर्किया, डाइनिया, राजघाट, बेलबारी, पथरी केराबारी, झोराहाट, भौडाहालगायत ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।
कुल १८ स्थानमा सञ्चालित शिविरमा ८८७ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । सेवा लिनेमा ८८१ जना महिला छन् । पुरुषको संख्या जम्मा छ जना मात्र छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।