
बुटवल – आउँदो सोमबारदेखि कृषि मेला हुने भएको छ ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र बुटवल उद्योग वाणिज्य संघले मेला आयोजना गरेका हुन् ।
कृषिको आधुनिकीकरण गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ मेला गर्न लागिएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । बुटवल–१० बुटवल मण्डपमा हुने कार्यक्रम पुस २६ गतेसम्म चल्नेछ । बुटवलमा २०६२ सालदेखि कृषि मेला हुँदै आएको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवललाई कृषि उपजको बृहत संकलन केन्द्रको रूपमा स्थापित गराउँदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिन मेला आयोजना गरिएको बताए । नेपालका ६७ प्रतिशत किसान कृषिमा आश्रित छन् । सरकारलाई कृषि क्षेत्रको योगदान जम्मा ३४ प्रतिशत मात्र छ ।
मेलामा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा प्रदेश पाँचमा १२ वटै जिल्लाका उत्पादनहरू प्रदर्शनमा रहने जानकारी दिए । मन्त्रालयका अधिकृत शान्त कार्कीले मेलाले किसान र उपभोक्तालाई जोडन सक्नुपर्ने बताइन् ।