
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले पछिल्लो समय पत्रकारिता पेशामा विकृति भित्रिएको अनुभव आफूले गरेको बताएकी छन् ।
शनिबार चलचित्र ‘बुलबुल’को गीत रिलिज कार्यक्रममा पछिल्लो समय एउटा बूम र क्यामेरा बोकेको भरमा आफूलाई पत्रकार भन्नेहरूको जमात बढेको बताइन् ।
‘जो ‘इथिकल्ली’ काम गरिरहनुभएको छ, उहाँहरूलाई भन्न खाजेको होइन, जो ‘अनइथिकल’ रूपमा एउटा बूम र क्यामेराको भरमा पत्रकार भनेर हिडिँरहनुभएको छ, उहाँहरूलाई मात्र भन्न खोजेको हो,’ सञ्चारकर्मीमाझ स्वस्तिमाले भनिन्- ‘त्यो कामले त तपाईंहरूलाई पनि काम गर्न गाह्रो परिरहेको होला नि !’
उनले चलचित्रको सूटिङ सेटमा समेत व्यक्तिपिच्छे युट्युब च्यानल हुने गरेको बताइन् ।
‘हिजोमात्रै म एउटा चलचित्रको छायांकन सकेर आएँ, त्यहाँ चिफ एसिस्टेन्ट, प्रोडक्सनको व्यक्तिदेखि चिया लिएर आउने स्पटब्वाइसम्मको युट्युब च्यानल रहेछ,’ उनले सुनाइन्, 'त्यहाँ म जिस्किँदा पत्रकारमाथि हातपात होइन है भन्नुभयो, त्यो बेला मैले बुझें ए त्यस्तो पनि रहेछ ।’
त्यो देखेर आफूलाई नरमाइलो लागेको उनले बताइन् । बूम र क्यामेराको भरमा 'पत्रकार हुँ' भन्दै हिँडनेहरूले गर्दा सच्चा पत्रकारलाई काम गर्न गाह्रो हुने उनको बुझाइ छ ।
‘मैले पत्रकारिता होइन ‘अन इथिकल’ पत्रकारितामाथि प्रश्न गरेको हो,’ स्वस्तिमाले भनिन्, ‘त्यसले कलाकारसँगै पत्रकारलाई पनि असर गर्छ ।’
केही दिनअघि अभिनेत्री आँचल शर्माले युट्युब च्यानलमा अन्तर्वार्ता नदिँदा माफी मागेको प्रसंगमा स्वस्तिमालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।