२१ जेठ २०८३, बिहीबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न नियम निलम्बन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न नियम निलम्बन

काठमाडौं–राष्ट्रिय सभाले कार्यसञ्चालन नियमावली संशोधन गरेर बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पारित गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद लम्ब्याउनेगरी सरकारले संसद्मा दर्ता गरेको विधेयक पारित गर्नका लागि नियम निलम्बन गरिएको हो ।

राष्ट्रिय सभाको पहिलो बैठकमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले विधेयक पेश गरेका थिए । राष्ट्रिय सभाको आइतवार बसेको बैठकले संशोधनका लागि दिइने ७२ घण्टाको समय घटाएर १ घण्टामा झारेको छ ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा नेकपाका रामनारायण बिडारीले आयोगको म्याद थप गर्नका लागि हतारमा विधेयक पारित गर्नुपर्ने अवस्था आएको बताए । उनले नेपालको माटो सुहाउँदो संक्रमणकालीन न्यायसम्बन्धी नयाँ कानून ल्याउनु पर्ने बताए । 

नेपाली कांग्रेसका जीतेन्द्र देवले संक्रमणकालीन न्यायसम्बन्धी काम संवेदनशील रहेकाले सरकारले राजनीतिक दलहरूसँग सहमति गरेर निकाश खोज्न आग्रह गरे । 

‘सरोकार राख्ने सबै पक्षलाई चित्त बुझ्ने खालको कानून ल्याउनका लागि सरकारको ध्यानाकर्षण गर्छु,’ उनले भने । 

कांग्रेसका बद्री पाण्डेले हतियारबद्ध युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपनि सरकार अहिले वाकयुद्धमा उत्रिएको आरोप लगाए । पाण्डेले नेपालमा संयुक्त राष्ट्रसंघको आह्वानलाई बाह्य हस्तक्षेपको रूपमा लिन नहुने बताए । 

मन्त्री ढकालले माघ २६ गते दुवै आयोगको म्याद सकिने भएकोले यो विधेयक पेश गरिएको बताए । प्रस्तावित विधेयकमा पदाधिकारीको म्याद सकिए पनि आयोग कायमै रहने गरी प्रस्ताव गरिएको बताए ।

आइतवार नै तेस्रो बैठकबाट विधेयक पारित गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्