०३ असार २०८३, बुधबार

पानी जहाज चलाउन रोडम्याप तयार, अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता

पानी जहाज चलाउन रोडम्याप तयार, अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

कांग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा लामो समयदेखि नियमित आर्थिक सहयोग पु¥याउँदै आएको पुरानो र भरपर्दो मित्र अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याइरहेको जनाएको छ ।

बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा डा गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ । 

कांग्रेसद्वारा सुनुवाइ समिति बैठक बहिष्कार 
प्रमुख प्रतिपक्षी कांग्रेसले ५ संवैधानिक आयोगको अध्यक्षमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संसद्को सुनुवाइ समिति बैठक बहिष्कार गरेको छ । प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषद् बैठकबाट गरिएको सिफारिस संविधानविपरीत रहेकाले सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै कांग्रेस सांसदले आइतबार बैठक बहिष्कार गरेका हुन् ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी नेताको सहभागिताबिना परिषद् बैठकले गरेका निर्णय मान्य नहुने बताए । उनीहरूले समितिले सिफारिसको निर्णयको कागजात मगाएर छानबिन गर्नुपर्ने माग गरेका छन् ।

पानी जहाज चलाउन रोडम्याप तयार
पानीजहाज चलाउन सरकारले रोडम्याप बनाएर छलफल सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी, रोडम्याप र सहकार्य÷संयोजनबारे आइतबार प्रधानमन्त्री कार्यालयका सचिव र सरोकारवाला मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो। प्रधानमन्त्री केपी ओलीले मुलुकको समृद्धि र विकासका लागि रेलवे र वाटरवे ‘गेम चेन्जर’ हुने भन्दै रेल र पानीजहाज चलाएरै छाड्ने पटकपटक प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयको योजना, अनुगमन र मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता मधु मरासिनीले पानीजहाज चलाउन आवश्यक रोडम्याप, सरकारले तत्काल गर्नुपर्ने काम, मन्त्रालयहरूबीचको समन्वय र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए । पारवहन, गोदाम र व्यापार सन्धिलगायत मुद्दा वाणिज्य मन्त्रालयले हेर्ने र पानीजहाज पारवहन र व्यापारसँग सम्बन्धित भएकाले उक्त मन्त्रालयले रोडम्याप सार्वजनिक गरेको हो ।

आइतबारको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिर ढुंगाना र दीपेन्द्रनाथ शर्मा, सरोकारवाला मन्त्रालयहरू भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, ऊर्जा, जलस्रोत र सिँचाइ तथा परराष्ट्र मन्त्रालयका सहसचिव सहभागी थिए । मरासिनीले मुलुकमा पहिलो पटक पानीजहाज चलाउन लागिएकाले कसरी अघि बढदा टुंगोमा पुग्न सकिन्छ भने रबनाइएको रोडम्यापबारे छलफल भएको बताए ।

‘कुन मन्त्रालयको जिम्मेवारी के र कसरी अघि बढ्दा लक्ष्यमा पुग्न सकिन्छ र त्यसका लागि एउटा रोडम्याप तयार गरौं भन्ने मुख्य उद्देश्य हो,’ उनले भने, ‘पहिलोचोटि भएकाले गहिराइमा छलफल हुन सकेन ।’ नेपालमा पानीजहाज चलाउन सरकारले गत माघमा पानीजहाज कार्यालय खोल्ने निर्णय गरिसकेको छ ।, कान्तिपुरमा खबर छ ।

विधेयक पारित
राष्ट्रियसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा अन्य पाँच विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् । राष्ट्रियसभाको अर्काे बैठक यही माघ २७ गते दिउँसो १ बजे बस्नेछ ।

नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेको छ । समितिको आइतबार बसेको बैठकले व्यवस्थापिका–संसद् सचिवालयसम्बन्धी ऐन २०६४ र छुवाछूत तथा भेद्भाव (कसुर र सजाय) ऐन २०६८ गरी दुई वटामा सामान्य संशोधनसहित पारित गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । 

विधेयकमा १०६ वटा ऐन संशोधनको प्रस्ताव रहेको समिति सचिवालयले जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनसहितको प्रस्ताव प्रतिनिधि सभामा पेश गरिने समितिले जनाएको छ ।

बेथिति हटाउन आयोगको ध्यानाकर्षण 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक निर्माणमा देखिएका समस्या एवं बेथिति हटाउन सरकारको ध्यानाकर्षण गराएको छ । भौतिक विकाससँग जोडिएका मन्त्रालयका र विभागका प्रमुखसँग आइतबार आयोगले गरेको अन्तक्र्रियामा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारद्वारा सञ्चालन भएका आयोजनाको काममा भइरहेको ढिलाइ क्षम्य हुन नसक्ने बताए । 

सार्वजनिक निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था सम्बन्धमा आयोगद्वारा गरिएको अध्ययनले सरकारको निर्माण कार्यको भयावह अवस्था चित्रण गरेको गरेको भन्दै उनले एक हजार ८४८ आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका र रु २३ अर्बभन्दा बढी सरकारी रकम पेश्कीको रूपमा ठेकेदारले प्रयोग गरिरहेका पाइएको जानकारी गराए ।

फोरजी/एलटिइ सेवा विस्तार गर्न सम्झौता 
नेपाल टेलिकमको फोरजी/एलटिइ सेवा विस्तारका लागि सम्झौता भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरे । फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको हो । सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ । 

क्रिकेटमा नेपालको उत्कृष्ट पुनरागमन
युवा क्रिकेट खेलाडीले भरिएको नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले दुवै सिरिज समान २–१ ले जितेको छ । दुवै सिरजअन्तर्गतका पहिलो खेलमा पराजय भोगेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि रक्षा गरेको हो । 

उपाधि जितेलगत्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, “हामीले राम्रो टिम पाएका छौँ, दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ, हाम्रा लागि यो सिरिज महत्वपूर्ण छ । विश्वकप छनोट नजिक छ । यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ । तीन÷चार महीनादेखि तयारी थाले  उत्कृष्ट नतिजा ल्याउँछौँ ।”
      
कप्तान खड्काले करण केसी र अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गर्नुका साथै सोमपाल कामी र सन्दीप लामिछानेलगायतको भूमिकाको खलेर प्रशंसा गरे । 
 
दुई नेपाली खेलाडीको विश्व रेकर्ड     
प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । 

यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने । टी–२० सिरिज खेल्नुअघि नेपालले युएइसँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको थियो ।

एक खेलअगावै नेपाललाई सिरिज
अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ । घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतबार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।
 
पाकिस्तानको इस्लामावादमा पाकिस्तानले दिएको १०२ रनको लक्ष्य नेपालले आठ ओभर पाँच बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन जोडेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्