
काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । लामो समयपछि बसेको सचिवालय बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
पार्टी एकताका विषयमा बाँकी विषय टुंग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ ।
एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदलले पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्ने तयारी गरेको हो । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल छन् ।