२६ असार २०८३, शुक्रबार

व्यावसायिक कृषिबाट समृद्धि आउने मुख्यमन्त्रीको विश्वास

माघ २१, २०७५
व्यावसायिक कृषिबाट समृद्धि आउने मुख्यमन्त्रीको विश्वास

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले व्यावसायिक कृषि खेतीबाट मात्र मुलुक समृद्ध हुने बताएका छन् ।

अहिले नेपालको कृषि प्रणाली निर्वाहमुखी भएको भन्दै मुख्यमन्त्री पोखरेलले कृषिलाई व्यावसायिक बनाउनुको विकल्प नभएको बताए ।

आइतवारदेखि बुटवलमा शुरू भएको कृषि मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले किसानलाई आर्थिक रूपमा सक्षम नबनाएसम्म कृषि क्षेत्रको व्यावसायिक  विकास हुन नसक्ने दाबी गरे ।

उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशको विकासको पहिलो आधार कृषि, उद्योग र पर्यटन रहेको जानकारी दिए । मुख्यमन्त्री पोखरेलले कृषिको व्यावसायिकीकरणका लागि किसानलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्नुपर्ने बताए । अबको राजनीतिक कृषि क्षेत्रको विकासमै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उद्योगी व्यवसायी र कृषकलाई लक्षित गर्दै उनले भने, ‘विदेशी माल वस्तुहरू ल्याएर उद्योगी नबनौं । अब त्यो प्रचलन तोड्नुपर्छ । यही केही गरौं । तब मात्र उद्योगी भइन्छ ।’ मेलामा वास्तविक किसान नदेखेको भन्दै दुःख व्यक्त गरे । ‘मैले त यहाँ किसानहरूको जमघट होला । उल्लासपूर्ण होला भनेको थिए । तर त्यो देखिन । आउँदो वर्षदेखि कृषि मेला गर्दा मसँग समन्वय नगरी मेला हुन्न दिन्न ।’

पोखरेलले नेपालको वनलाई पनि उद्योगमा रूपान्तरण गर्न आवश्यक रहेको बताए । त्यसको लागि प्रदेश सरकार निजी क्षेत्रसँग पनि सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई नै मालि बनाउने योजनाका साथ मन्त्रालय अगाडि बढिरहेको बताइन् ।

‘जबसम्म किसानले व्यावसायिकीकरण अगाडि बढ्न सक्दैनन्, तबसम्म देश कृषिको  विकास सम्भव छैन,’ उनले भनिन्, ‘कृषि क्षेत्रमा मन्त्रालयले धेरै कार्यक्रम ल्याएको छ, किसानहरूलाई बढीभन्दा बढी सयमा सहभागी हुनको लागि आग्रह गर्दछु ।’

मन्त्रालयले वास्तविक किसान पहिचान गरेर आयोजना अगाडि बढाउने भन्दै मन्त्री पौडेलले यसमा दुइमत नभएको बताइन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने कृषि पछाडि परेको भन्दै अब यसको गम्भीर छलफल गरी जरूरी भएको बताए । देशको मेरुदण्डलाई बचाउन आवश्यक रहेको बताए । उनले किसानलाई सम्मान गर्न आवश्यक रहेको समेत बताए । 

मेलामा गाउँका उत्पादनदेखि कृषिका प्रविधिका १ सय २६ स्टलको सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी बताए । बुटवल उद्योग वाणिज्य संघ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा शुरू भएको मेला ६ दिनसम्म चल्नेछ । बुटवलमण्डपमा कृषि केन्द्रित प्रतियोगिता, अन्तक्र्रिया गोष्ठी र सचेतनाका कार्यक्रम पनि आयोजना गरिँदैछ ।

मेलामा ५ नम्बर प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बिउबिजन कार्यक्रम प्रवद्र्धकको भूमिकामा छन् ।  २०६२ सालदेखि पहिलो पटक कृषि मेला आयोजना बुटवल उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना नगर्दाको वर्ष कृषि मेला गर्दै आएको छ ।

संघले विशिष्टीकृत रुपमा आयोजना गरेको यस वर्षको कृषि मेला नवौं संस्करणको रहेको छ । मेलामा विभिन्न ३५ जिल्लाका कृषिजन्य उत्पादन प्रदर्शनमा राखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्