
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध सोमबार देशैभर प्रदर्शन गर्याे । सरकारले संसदबाट जवरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, विधेयक यसअघि भएको सम्झौता अनुसार नल्याएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै कांग्रेसले देशभर प्रदर्शन गरेको हो ।
देशका विभिन्न भागमा भएका विरोध कार्यक्रममा बोल्दै कांग्रेसका नेताहरुले सरकारलाई अधिनायकवादी शैली नदेखाउन र झुटो आश्वासन नबाड्न सचेत गराएका छन् । नेताहरुले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत भएको कांग्रेसलाई कमजोर नठान्न चुनौती पनि दिए ।
विज्ञापनमा गल्ती भए ५ वर्ष कैद
सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको छ । विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही कसुरलाई सरकारवादी मुद्दा भनिएको छ । दर्जनौं विषयलाई विज्ञापन गर्न नहुने शीर्षकमा राखिएको छ । गर्न नहुने विषयलाई कसुरमा राखेर जरिवानादेखि जेलसम्मको सजाय निर्धारण गरिएको छ ।
अन्य कानुनले पनि नियमन गर्ने विषयलाई विधेयकमा कसुरका रूपमा राखिएको हो । पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले विज्ञापनको कसुरलाई फौजदार ी अपराधमा राख्ने अवधारणा गलत भएको बताए । विधेयकमा उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइएको छ । जुवा खेल्ने वा चिट्ठा किन्न प्रोत्साहन गर्ने, अश्लील विषय वा त्यससम्बन्धी अन्य विषयवस्तु वा सेवा उपयोग वा प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने विषयका विज्ञापनलाई कठोर अपराधमा राखिएको छ ।, कान्तिपुरमा खबर छ ।
भेनेजुयलाबारे नेकपा र सरकारको अडान कायमै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले कुनै सार्वभौम देशमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
भेनेजुयला प्रकरणमा सरकार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्ति अनुमोदन गरेको छ । बैठकले हरेक देशको सार्वभौम सत्ता, स्वतन्त्रता र अखण्डतामा बाह्य हस्तक्षेप हुन नहुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले पार्टीको सांगठनिक समायोजनका लागि गठन गरेको कार्यदललाई भोलिसम्ममा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि मंगलबार नै स्थायी कमिटी बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
सहसचिवको समायोजन शुरु
सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए ।
उनका अनुसार सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन् ।
मन्त्रालयले पहिलो चरणमा सङ्घमा सबै सचिवको समायोजन गरिसकेको छ । प्रवक्ता अधिकारीले यसअघि उपसचिव तहको आइतबारदेखि समायोजन गर्ने भनिए तापनि प्राविधिक कारणले मङ्गलबारदेखि मात्र शुरु हुने बताए
पूर्वमन्त्रीद्वयलाई भ्रष्टाचारमुद्दा
समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन मन्त्री एवं समाज कल्याण परिषदका अध्यक्ष न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने र सदस्य सचिव रवीन्द्रकुमार यादव तथा भृकुटीमण्डप फनपार्क मेलाका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ र सञ्चालक टेकबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरू सबैमाथि ३१ करोड ५२ लाख रुपैयाँका दरले बिगो मागदाबी छ ।
न्यौपाने, मेहता, चौधरी र रवीन्द्रकुमारको हकमा भने थप सजायको मागदाबीसमेत अख्तियारले गरेको छ ।, कान्तिपुरमा खबर छ ।
नक्कली हवाई टिकट बनाएको अभियोगमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य र तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठले हवाई यात्रा नै नगरी नक्कली टिकट बनाई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।
पीडित र अस्पतालबीच सहमति
झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो ।
घटनामा अस्पतालको लापर्वाही भए÷नभएको छानबिन गर्न मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति निर्माण गर्ने र उक्त समितिले १० दिनभित्रमा घटनाको प्रतिवेदन सार्वजनिक गर्ने र त्यसपछि पीडित परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा छलफल गरिने सहमति भएको छ ।
नेपाली क्रिकेट टोलीको भब्य स्वागत
नेपाली राष्ट्रिय क्रिकेट टोली युएईविरुद्ध एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएको छ । क्रिकेट टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भव्य स्वागत गरेको छ ।
क्रिकेट टिमलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, राखेपका पदाकारी लगायत विमानस्थल पुगेका थिए । विमानस्थलमा खेलाडीहरूलाई स्वागत गर्न रातो कार्पेट बिच्छ्याइएको थियो ।
खेलाडिलाई स्वागत गर्न समर्थकको पनि विमानस्थलमा उल्लेख्य उपस्थिती रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेका राष्ट्रिय टोलीका खेलाडी सदस्यलाई जनही पाँच लाख रुपैयाँ दिन सिफारिस गरेको छ ।
राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको हो । यस्तै राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनहीँ १०÷१० हजार रुपैयाँ दिएका छन् ।
यसैबीच, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रेमीले कीर्तिपुरको मैदानमा नै एकदिवसीय खेल हेर्न पाउने बताएका छन् । युएईविरुद्धका एकदिवसीय र टी–२० सिरिज जितेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान खड्काले नेपालमा नै अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने सम्भावना रहेको बताएका हुन् ।
नेपालद्वारा सिरिज ‘क्लिन स्वीप’
घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टि–२० सिरिज नेपालले ‘क्लिन स्वीप’ गरेको छ । सोमबार भएको अन्तिम अन्तिम टी–२० मा पाकिस्तानलाई नौ विकेटले हराउँदै नेपालले सिरिज ४–० ले आफ्नो पक्षमा पारेको हो ।
इस्लामावादमा पाकिस्तानले दिएको १२७ रनको लक्ष्य नेपालले १० ओभर चार बलमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा मनकेसी चौधरीले ८१ रनको अर्धशतकीय इनिङ खेलिन् ।
पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल नौ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । यसैगरी सिरिज जितेको नेपालले एक लाख पाकिस्तानी हात पार्यो ।