काठमाडौ,२८ फागुन- विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निःशुल्क वितरण गर्ने भएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ |
चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान् महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने भएको हो | कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम शुल्कमा विश्व बजारमा सेवा पुर्याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी भएको छ ।
चौधरी ग्रुपद्वारा स्थापित शाश्वतधाम उद्घाटन समारोहमा मंगलबार ग्रुपका अध्यक्ष विनोद चौधरी र जयपुर फुटका संस्थापक डा. डीआर मेहताले सयौं नागरिकलाई साक्षी राखेर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । कल्याणकारी कामका लागि मेहतालाई भारत सरकारले सन् २००८ मा पद्मभूषण र सन् २०१२ मा राजीव गान्धी नेसनल सद्भावना अवार्डबाट सम्मानित गरेको थियो ।