
काठमाडौं — केही समयका लागि फेसबूक छोड्नु प्रयोगकर्ताको मानसिक स्वास्थ्यका लागि राम्रो हुने देखिएको छ ।
अमेरिकाको न्युयोर्क र स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले केही फेसबूक प्रयोगकर्ताहरूमाथि अध्ययन गरेका थिए ।
एक महिना वा त्यसभन्दा बढी समयका लागि फेसबूक छोड्ने मानिसको भावनात्मक दृष्टिकोणमा निकै सकारात्मक परिवर्तन आयो । लामो समयसम्म फेसबूक छोड्दा चाहिँ अनेक मानिसमा सामान्य ज्ञानको कमी देखियो ।
अनुसन्धान प्रतिवेदनअनुसार, फेसबूक प्रयोग बन्द गरेपछि प्रयोगकर्ताले अन्य सामाजिक सञ्जाल वेबसाइटमा पनि जना बन्द गरे । अनि उनीहरूको राजनीतिक झुकाव पनि कसैप्रति देखिएन ।
तर सामाजिक सञ्जालमा उपस्थिति कम हुँदा खबरहरूको बारेमा उनीहरूको जानकारी र सुझबुझमा कमी आयो ।
फेसबूक बन्द गरेपछि प्रयोगकर्ताहरूले आफ्नो परिवारलाई बढी समय दिन शुरू गरे । तर अध्ययन अवधि सकिएपछि धेरजसो मानिसले आफ्नो फेसबूक अकाउन्ट फेरि याक्टिभ बनाए ।
न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा यस अनुसन्धानसँग जोडिएका हन्ट एल्कटले फेसबूक बन्द गर्दाका फाइदाका बारेमा जानेपछि पनि प्रयोगकर्ताले फेरि शुरू गरेको बताए । अर्थात्, फेसबूक छोडेपछि पनि उनीहरूलाई त्यसको लत छुटेन ।
यस अध्ययनमा आएको सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने प्रयोगकर्ताहरूलाई फेसबूक एक सम्पूर्ण सामाजिक सञ्जाल हो । यहाँ मानिसहरूले सामाजिक हुनुका साथै मनोरञ्जनको मौका पनि पाउँछन् ।
एल्कटका अनुसार, यो अध्ययन अत्यन्तै महत्त्वपूर्ण रह्यो किनकि फेसबूकमाथिको यो फरक अध्ययन थियो । अघिल्ला अध्ययनहरू कुनै एक पक्षका बारेमा मात्र सीमित थियो ।
एजेन्सी