
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा सत्तारुढ दलका छुट्टा–छुट्टै विज्ञप्ति र अभिव्यक्तिले कूटनीतिक क्षेत्रमा भ्रम सिर्जना गरेको भन्दै कुन आधिकारिक हो भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीसँग माग गरेको छ ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद् भीमसेन दास प्रधानले नेकपाका एउटा अध्यक्षले एउटा वक्तव्य जारी गर्ने र अर्कोले खण्डन गर्ने कामले कहीँ नभएको जात्रा नेपालमा भन्ने उखान चरितार्थ गरेको बताए ।
‘सत्तारुढ दलका दुईवटा अध्यक्षको दुईजिब्रे वक्तव्यले जनतामा भ्रम पारेको छ, संसदमार्फत् प्रधानमन्त्रीको आधिकारिक हो कि अर्को अध्यक्षको हो भन्ने प्रस्ट पार्न जरुरी छ,’ पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले भने, ‘यसबारे प्रधानमन्त्रीको आधिकारिक वक्तव्य संसद्मा आउनुपर्छ ।’
उनले एउटा अध्यक्षले वक्तव्य जारी गर्ने र अर्कोले खण्डन गर्ने कार्यलाई कूटनीतिक क्षेत्रमा हास्यास्पद् रूपमा लिइएको टिप्पणी समेत गरे ।
‘हुन त हाम्रा प्रधानमन्त्री उखान टुट्काका हिमायती हो, एउटा उखान छ– तेल पोखेको सोर्न सकिन्छ, बोली पोखेको सोर्न मिल्दैन । यही संसद्मार्फत् भेनेजुएला प्रकरणमा कुरा राख्न प्रधानमन्त्रीसँग माग गर्न चाहन्छु ।’
यसअघि कांग्रेसको सांसद् डिला संग्रौलाले भेनेजुएला प्रकरणबारे सरकारको जवाफ माग गरेकी थिइन् ।
‘अमेरिकालाई चिढ्याउँदै कहिले पनि सम्बन्ध नभएको राष्ट्रको पक्षमा वक्तव्यबाजी गरेर सरकार किन लाग्दैछ ? अमेरिकाले नेपाललाई धेरै ठूलो धनराशी सहयोग गर्दै थियो, त्यो रोक्ने षड्यन्त्र हो ?’ संगौलाले भनिन्, ‘अध्यक्षले वक्तव्य जारी गर्ने अनि प्रधानमन्त्रीले अध्यक्षको टङ स्लिप भयो भनेर माफी माग्ने ! वक्तव्यमाथि वक्तव्यले मुलुक संकटतर्फ गएको छ । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’