३० जेठ २०८३, शनिबार
किसानलाई प्रोत्साहन

पसिनाको फलमा डोजर चलाउनेलाई विद्यार्थीको हौसला, विद्यालयमा बेचियो बन्दाकोपी

माघ २६, २०७५
पसिनाको फलमा डोजर चलाउनेलाई विद्यार्थीको हौसला, विद्यालयमा बेचियो बन्दाकोपी

बुटवल – बजारमा १ कप कफीको ३० देखि १ सय ५० रूपैयाँसम्म तिर्नुपर्छ । रेडबुल प्रतिक्यान ९५ देखि २ सय ५० रूपैयाँसम्ममा किनेका उदाहरण छन् ।

कोकोकोला प्रतिबोतल ३५ रूपैयाँमा किन्नुपर्छ । तर बिडम्बना नेपाली कृषकले उत्पादन गरेको बन्दाकोपी प्रतिकिलो २ रूपैयाँमा पनि बिक्री हुँदैन ।

जसले गर्दा तरकारी उत्पादन गर्ने किसानले वर्षभर दुःख गरेर लगाएको तरकारीमा डोजर लगाएर माटोमा मिलाए । सिजनमा पसिना चुहाएर फलाएको तरकारीमा डोजर चलाउने रहर कसलाई होला र ? तर किसानले मुटुमाथि ढुंगा राखी पसिनाको फलमाथि डोजर चलाए ।

यस्तो पीडामा परेका किसान हुन् चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतो । महतोले आफ्नो २ विगाहा क्षेत्रफलमा लगाइएको बन्दाकोपी गएको माघ ११ गते डोजर लगाएर नष्ट गर्न बाध्य भए । उनले झण्डै ६ टन बन्दा डोजर लगाएर नष्ट गरेका छन् ।

‘बिक्रीका लागि तयार भएको १ महिनासम्म पनि सबैतिर बन्दा किनिदिन आग्रह गरे । धेरै ठाउँ भौतारिए । तर मैलै उत्पादन गरको बन्दा २ रूपैयाँ प्रतिकिलोमा किनिदिने कोही नभेटेपछि डोजर चलाएर नष्ट गर्नको विकल्प देखिनँ,’ उनले थपे, ‘गत वर्ष प्रतिकिलो १४ रूपैयाँसम्म बिक्री गरेको थिएँ ।’

तरकारीले बजार पाउन छाडेपछि महतोको तरकारी खेती गर्न उनको मन मरेको छ । ‘अब यसलाई पनि घटाउँदै जानुपर्ने भयो । बैंकको ऋण लिएर तरकारी लगायो, लागत पनि उठ्दैन आफ्नो दुःखको त हिसाब नै छैन,’ पुरनले लोकान्तर संवाददातासँग दुखेसो पोखे, ‘३ तहका सरकार छन् भन्छन् । सरकारले किसानको समस्यामा सहयोग गरेको खै ?’

५–७ वर्ष अगाडि सहकारीहरूमार्फत् तरकारी बिक्री भएपनि आजभोलि हुन छाडेको छ । काठमाडौंको कालिमाटीमा पहिला तरकारी जाने भएपनि हिजोआज भने ‘बिक्री हुँदैन नल्याउनू’ भन्ने गरेको महतोले गुनासो गरे । ‘उपभोक्ता र किसान दुवै मारमा परेका छन्,’ महतोले भने, ‘कसरी हाम्रो समस्याको समाधान होला ?’

बैंकमा उनको २५ लाख रूपैयाँ ऋण छ । ‘बन्दा बिक्री भएन । ब्याज कसरी तिर्ने यसैको पीडामा छु,’ उनले भने, ‘निःशुल्क लैजाउनुभन्दा पनि कसैले लगेनन्, बाध्य भएर डोजर चलाएको हुँ । म चर्चामा आउन डोजर चलाएको होइन ।’ 

महतोले तरकारी नष्ट गरेको समाचार देशभर फैलियो । ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले महतोको गाउँमा आएर ‘कृषि क्रान्ति गर्छाैं’ भन्ने भाषण गर्दै हिँडे । तर उनलाई एक पटक पनि भेट्न गएनन् । महतो भन्छन्, ‘मैले उत्पादन गरेको बन्दा नष्ट गर्नुपर्यो । अझै कृषिमा क्रान्तिको भाषण गर्न अब मन्त्रीले सुहाउँदैन ।’

उनले बिक्री नभएको बन्दा नष्ट गर्न पनि ८ हजार खर्च गर्नपर्यो । २०४५ देखि ०५९ सालसम्म महतो वैदेशिक रोजगारीको लागि साउदी अरब पुगे । त्यहाँ नराम्रो दुःख पाए । २०६० सालदेखि विदेश होइन, आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले उनी नेपाल फर्किए र शुरू गरे आफ्नै घरनजिकै १० विगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती । उनीहरूको पुर्ख्यौली पेशा पनि हो तरकारी खेती । उनले अब जम्मा ५ विगाहामा मात्र तरकारी खेती गर्ने सोच बनाएका छन् ।

उनले तरकारी नष्ट गरेको खबर सुनेपछि रूपन्देहीको बुटवलस्थित दीप बोर्डिङ हाई स्कूलका प्राचार्य टिकाराम न्यौपानेको मन छोयो । न्यौपानेले महतो ठाउँ र सम्पर्क गरे । नष्ट गरेकोबाहेक बचेको बन्दा उनले उत्पादन गरेको बन्दासहित महतोलाई बुटवल बोलाए । विद्यालयमा महतोलाई सम्मान गरे । ‘किसानको सम्मान गरिनुपर्छ भनेर मैले बोलाएर सम्मान गरेको हुँ,’ उनले भने ।

विद्यालयमा गठन भएको ‘इन्ट्रयाक्ट’ क्लब अफ दीप बोर्डिङ र नेपाल युवा रेडक्रस सर्कल दीप बोर्डिङले महतोले उत्पादन नगरको बन्दा प्रतिगोटा ५ रूपैयाँका दरले किने । उत्पादित कृषि उपजको उचित बजारीकरणका लागि सचेतना अभियान स्वरूप किसानलाई विद्यालयमा बोलाएर सम्मान गरिएको प्राचार्य न्यौपानेले बताए ।

आफ्नो गाउँमा बिक्री नभएको बन्दा बुटवल ल्याएर विद्यालयका छात्रछात्रालाई ५ रूपैयाँ प्रतिगोटा किन्दा महतोका आँखा रसाए । उनले भने, ‘बुटवलमा मलाई विद्यार्थीले जुन सम्मान दिए, त्यो मैले कहिल्यै भुल्न सक्दिनँ । राज्यले नगरेको सम्मान विद्यालय र विद्यार्थीले गरे ।’

विद्यार्थीले महतोको ११ हजार रूपैयाँका बिन्दा किनेका थिए । विद्यालयका १ हजार ६ सय विद्यार्थीले महतोले उत्पादन गरेका बन्दा किनेका थिए । राज्यले किसानलाई सम्मान र उत्पादनलाई बजार सुनिश्चित नगर्दासम्म नेपालको कृषि क्षेत्रको विकास हुन नसक्ने महतोको भनाइ छ ।

उनले पहिलो सिधै तरकारी काठमाडौंको कालिमाटीमा पुर्याएर बिक्री गर्थे । त्यहाँ बिचौलियाले खरिद गरेर मोलमोलाई गर्न थालेपछि उनले तरकारी संकलन केन्द्रमा पठाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्