
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । केही दिनदेखि बदली तथा वर्षाको अवस्थामा रहेको मौसममा सुधार आउन थालेको महाशाखाले जनाएको हो ।
पश्चिमका अधिकांश क्षेत्रमा आइतबार पनि मौसम आंशिक बदलीको अवस्थामा रहने छ । पश्चिमका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद समिर श्रेष्ठका अनुसार मौसममा सुधार हुन थालेको भए पनि पूर्ण रुपमा सफा हुने सम्भावना भने कम छ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा बिहानैदेखि मौसम खुलेको देखिएको छ । दिनभर सामान्यतया सफा रहने आंकलन गरिए पनि पूर्ण रुपमा सफा हुने भने समय लाग्ने छ । यसैगरी पश्चिमी वायुको प्रभाव कम भएकाले पूर्वको मौसम पनि आइतबार सामान्यतया सफा रहने देखिएको मौसमविद श्रेष्ठले जानकारी दिएका छन् ।
पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आए पनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाइ छ ।
महाशाखाका अनुसार योपल्टको हिउँदे वर्षा विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुने गरेको छ । फेब्रुअरीमा काठमाडौंमा औसतमा १८.७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी (४२.५ मिमि) पानी परिसकेको छ ।