२१ जेठ २०८३, बिहीबार

मोदीको अरुणाचल भ्रमणप्रति चीनको आपत्ति, भारतले पनि दियाे जवाफ

मोदीको अरुणाचल भ्रमणप्रति चीनको आपत्ति, भारतले पनि दियाे जवाफ
सन्दर्भ तस्वीर

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल भ्रमणका कारण चीन सशंकित भएको छ । साथै उसले भ्रमणप्रति आपत्ति जनाएको छ । आगामी लोकसभा चुनाव नजिकिँदै गर्दा देशदौडाहामा जुटेका मोदी शनिबार चीनसँग सीमा जोडिएको अरुणाचल राज्यमा पुगेका थिए ।

अरुणाचल भ्रमणका कारण घरेलु राजनीतिमा लाभको अपेक्षा गरेका मोदीले चीनसँगको सम्बन्धमा भने असहज परिस्थितिको सिर्जना सामना गर्नुपरेको छ । मोदीको अरुणाचल भ्रमणबारे चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै पूर्वोत्तर सीमामा हुने भारतीय नेताहरूको कुनै पनि गतिविधिको चीनले ‘कडा विरोध’ गर्ने बताएको छ । 

‘द्विपक्षीय सम्बन्धलाई ध्यानमा राख्दै चीनको चासो र चिन्तालाई सम्मान गर्न, दुई मुलुकबीच विकसित हुँदै गरेको सुमधुर सम्बन्धलाई ध्यानमा राख्न र विवाद बढाउने र सीमाका मुद्दालाई जटिल बनाउने गतिविधिबाट समेत टाढा रहन भारतीय पक्षलाई आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ । चीनको वक्तव्यप्रति कडा आपत्ति जनाउँदै भारतले अरुणाचल प्रदेश भारतको अखण्ड र अभिन्न अंग रहँदै आएको प्रस्ट पारेको छ । 

‘भारतीय नेताहरूले मलुकका अन्य भागमा जस्तै बेलाबखत अरुणाचलको भ्रमण गर्दै आएका छन् । अरुणाचललाई लिएर भारतको आफ्नो अडान समय समयमा चिनियाँ पक्षलाई अवगत गराइएको छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारद्वारा जारी वक्तव्यमा भनिएको छ । 

अरुणाचलको केही भूभागलाई लिएर दुई मुलुकबीच विगत लामो समयदेखि विवाद छ । दुई देशबीच यसै विवादका कारण सन् १९६२ मा युद्ध समेत भएको थियो । डेढ वर्षअघि पनि भारत र चीनबीच दोक्लाम सीमामा भएको विवाद उत्कर्षमा पुगेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्