
बुटवल – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।
पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उनले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पारे ।
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवं दशौं अधिवेशनको आइतवार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताए ।
महासचिव पौडेलले बुटवल–सुनौली ६ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पारे । उनले अब केही हप्ताभित्र बुटवल नारायणगढ सडक विस्तारको काम पनि शुरू हुने जानकारी दिँदै सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डीपीआर निर्माणको काम अगाडि बढिरहेको बताए ।
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकारका कामकारवाहीलाई रचनात्मक ढंगले आलोचना गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य दधिराम न्यौपानेले मुलुकको शान्ति र समृद्धिमा थप भूमिका खेल्न पत्रकारलाई आग्रह गरे ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिका–५ निवासी ५६ वर्षीया श्रमिक महिला उमाकला विकलाई २० वर्षदेखि परम्परागत आरन पेशा सञ्चालन गरेको भन्दै ८ हजारसहित सम्मान गरिएको थियो ।
रेडियो लुम्बिनीको २० औं साधारणसभा तथा दशौं अधिवेशनबाट इन्जिनियर दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णुप्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टंकप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन भएका छन् ।