
काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिपमा नेपाल केन्यासँग पराजित भएको छ ।
वर्षाले पटक पटक प्रभावित गरेकाे खेल २६ अाेभर छोट्याइएको थियो ।
केन्याले २९ ओभरमा १ सय ४ रनको लक्ष्य पाएको थियो । तर २१ ओभरको खेल जारी रहँदा पानी परेपछि केन्याको लक्ष घटाइएको थियो । त्यसपछि केन्याले २६ ओभरमा ९४ रनको नयाँ लक्ष्य पाएको थियो । जसलाई केन्याले अन्तिम ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
केन्याका लागि कप्तान राकेप पटेलले ३४ तथा कोलिन्स ओबुयाले २४ रन बनाए । नेपालका सन्दिप लामिछाने र सागर पुनले समान दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा एक सय १२ रन बनायो ।
नेपालको कप्तानी समालेका ज्ञानेन्द्र मल्लले २७, दिपेन्द्र सिंह ऐरीले १९, सागर पुनले १०, सोमापाल कामीले नटआउट १८ तथा शक्ति गौचनले नटआउट १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाली कप्तान पारस खड्का अस्वस्थ्य भएसँगै आजको खेलको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका थिए ।
सन् २०१८ मा हुने आइसीसी विश्वकप छनोटका लागि नेपाल र केन्या दुवै संघर्षरत छन् । दुवै टोली शीर्ष चारमा परेर विश्वकप यात्रा गर्न संघर्षरत छन् ।
फागुन ३० गते सोमबार दाेस्रो खेल हुनेछ ।