
धनगढी – काठमाडौं गोल्डेन्सले आजदेखि यहाँ शुरू भएको रुस्लान् धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरू भएको डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलव पाँच ओभरमा पूरा गर्यो ।
काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे ।
धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर चार विकेट लिए । टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा पाँच विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।
धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८ र सौरभ खनालले २५ रन बनाए । बलिङतर्फ नन्दन यादव दुई, ललित राजवंशी र अङ्कित दवासले एक/एक विकेट लिए ।