०३ असार २०८३, बुधबार

छिमेकीको प्रश्न- ‘प्रचण्डज्यू, तपाईं हिँड्ने बाटो चिल्लो छ, हामीलाई खै ?’

माघ २९, २०७५
छिमेकीको प्रश्न- ‘प्रचण्डज्यू, तपाईं हिँड्ने बाटो चिल्लो छ, हामीलाई खै ?’

काठमाडा‌ैं – ‘बर्खाअगाडि मास्क लगाउनेको संख्या धेरै थियो, अहिले घटेको पाएको छु,’ प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै गत पुस ११ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘म बसेको खुमलटार क्षेत्रमा पनि झण्डै एक वर्षपछि धूलोमैलोको स्थिति रहेन । बिस्तारै काठमाडौं उपत्यकाभरि त्यो परिस्थिति बन्दैछ ।’

प्रचण्डले संकेत गर्न खोजेको विषयलाई अलि नजिकबाट हेरौं । तपाईं सातदोबाटो–टीकाभैरव रोड अर्थात् चापागाउँ दोबाटो हुँदै ठेचोतर्फको यात्रा गर्दै हुनुहुन्छ भने चक्रपथबाट बाहिरिनासाथ फराकिलो र सफा सडक देख्न सक्नुहुन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटार बस्न थालेपछि यस क्षेत्रमा सडकको अवस्था सुध्रिएको हो । सडक पिच भएको झण्डै आठमहिना भयो । त्यसअघि यो सडकको अवस्था दयनीय थियो । प्रचण्डले दैनिक यात्रा गर्नुपर्ने भएपछि रातारात स्तरोन्नति र पिच गरियो ।

रिङरोडबाट युलेन्स स्कूलसम्म सडक निकै राम्रो देखिन्छ । त्यहाँबाट दाहिनेतर्फ लागेपछि प्रचण्ड निवास जाने सडक पनि सफाचट नै छ । दायाँबायाँ पनि फाहोर राख्ने डस्टबीनहरू पनि राखिएका छन् । त्यसैले शायद प्रचण्डलाई लाग्यो, आफ्नो ठाउँमा धूलोधूवाँ हराएपछि पूरै काठमाडौं सफा भयो । त्यसो त प्रचण्डको घर जाने रुटका बासिन्दा पनि खुशी नै छन् ।

प्रचण्ड आएपछि सडकको अवस्था सुध्रिएको स्थानीय व्यापारी प्रकाश महर्जन बताउँछन् । ‘प्रचण्डज्यू, आएपछि सडकको अवस्था त सुध्रिएको छ,’ महर्जनले भने ।

खानेपानी र ढलको समस्या भने समाधान हुन बाँकी रहेको उनी बताउँछन् ।

प्रचण्डको घर पार गरेपछि देख्न सकिन्छ सडकको पुरानै हविगत । प्रचण्डकै घरपछाडिको बाटोमा हामी पुग्दा मानिसहरू हिलोमा निकै कष्टपूर्ण ढंगले यात्रा गरिरहेका थिए ।

ललितपुर महानगरपालिका– २६ सुनाकोठी र त्यस आसपासका क्षेत्रमा सडक खनेर धूलो/हिलो भएको झण्डै २ वर्ष बितिसक्यो तर सडक पिच हुन सकेको छैन । 

स्थानीय तुलसा थापा भन्छिन्– ‘हाम्रोभन्दा अलिकति तल अध्यक्ष प्रचण्डको घर जाने सडक चिल्लो छ, १०० मिटरमाथि हाम्रो सडकको अवस्था भने बिजोग छ । २ वर्ष भयो सडक बनेको छैन । हामीले खानेपानी ल्याउनेसम्म पनि सडक छैन । हामीले पानी खानु पर्दैन ?’

मेलम्ची खानेपानीको लाइन र ढल तथा सडकको विवादले त्यस क्षेत्रको सडक निमार्णमा ढिलाइ भएको थापा बताउँछिन् । 

अर्का स्थानीय रमेश महर्जनले आक्रोशित हुँदै थपे, ‘सुनाइदिनुस् प्रचण्डज्यूलाई, तपाईं हिँड्ने बाटो चिल्लो छ, हामीलाई खै ? हामीले सधैँ यस्तै गरी हिँड्नुपर्ने हो ?’

ठेचो, ताहाखेल र चापागाउँ जाने सडकको अवस्था झनै नाजुक छ । पुरानो पिच उप्किएर सडकमा खाल्डाखुल्डी परेका छन् । आवतजावत गर्न समस्या छ ।

दिनहुँजसो २/४ वटा दुर्घटना भइरहने र यात्रुहरू घाइते भइरहने गोदावरी नगरपालिका स्थित चापागाउँमा स्थानीय रामकृष्ण महर्जन बताउँछन् । मुलुकमा तीन तहको सरकार हुँदा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ ।

यस क्षेत्रमा पुगेर जो कोहीलाई सोध्दा पनि आक्रोश पोख्छन्, नेताहरू आफू हिँड्ने बाटो राम्रो चाहिने, हामीलाई चाहिँ सधैँ सास्ती !’

हेर्नुहोस्, प्रचण्डको घरसम्म पुग्ने बाटो

हेर्नुहोस्, जनता मात्र हिँड्ने बाटो :

भिडियाे :

salt training

कमेन्ट गर्नुहोस्