काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले कसैको दलाली र कसैलाई दमन गर्न नहुने बताएका छन् ।
मंगलवार नेपाल प्रहरी तालिम केन्द्रमा आयोजित दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले आफ्नो लामो र गौरवपूर्ण इतिहासको रक्षा गर्नुपर्ने बताएका हुन् ।
‘प्रहरी यस्तो चीज हो, जनतालाई न्याय दिनका लागि प्रहरी चाहिन्छ । न्यायको प्रारम्भ गर्नका लागि प्रहरी चाहिन्छ । कुनै पनि शान्ति सुव्यवस्था, न्याय सुशासन, हरेक कुरामा पहिले प्रहरीको उपस्थिति आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चाहे तोकिएको कर्तव्य होस्, चाहे आकस्मिक रूपमा आइपर्ने कर्तव्य होस्, प्रहरीको कर्तव्य असाधारण, असीमित र बहुआयामिक छ ।’
नेपाल प्रहरी अत्यन्तै कठीन, कष्टकर अवस्थाबाट त्यस्ता दिनहरू पार गर्दै आजको दिनमा आएको भन्दै प्रधानमन्त्री ओलीले अबबाट नेपाल प्रहरीले कसैलाई रिझाउनु नपर्ने बताएका छन् ।
‘अब अपराधको राजनीतिकरण मान्य हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छे मार्ने, अपराध गर्ने लुटपाट मचाउनेजस्ता आतंककारी क्रियाकलापलाई राजनीतिको खोल ओढाएर उम्किन मिल्दैन ।'
धेरैले ९–९ महिनामा सरकार परिवर्तन हुने भएकाले किन काम गर्नु भन्ने सोच लिएको ओलीले आरोप लगाए । ‘बलियो बहुमतको सरकार हो, यो हट्नुभन्दा पहिला धेरै कुरा थितिमा ल्याइसक्छ,’ ओलीले भने ‘अब हामीले राजनीतिक अधिकारको लडाइँ सिध्याएका छौं, विकासका आधारहरू सुशासनका आधारहरू तयार गरेका छौं ।’
तालिम लिएका १२ महिला र ८३ पुरुष गरी जम्मा ९५ अधिकृतलाई नेपाल प्रहरीको तालिम केन्द्रमा गृहमन्त्रीको उपस्थितिमा दीक्षित गरिएको थियो ।