
सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खडक खत्रीले माघ २६ गते एक कार्यक्रममा लिएको १ हजार रुपैयाँ भत्ता फिर्ता गरेका छन् ।
मन्त्रीले भत्ता बुझेको समाचार लोकान्तरमा प्रकाशित भएपछि मन्त्री खत्रीले मंगलवार भत्ता वापतको रुपैयाँ फिर्ता गरेका हुन् ।
मन्त्री खत्रीले काठमाडौंमा रहेको राजस्वको खातामा १ हजार रुपैयाँ जम्मा गरेका हुन् ।
मन्त्रिपरिषद्ले केही महिनाअघि कसैलाई भत्ता पनि नदिने र कसैबाट भत्ता पनि नलिने औपचारिक निर्णय गरेको थियो । सोही निर्णय विपरीत मन्त्री खडक खत्रीले १ हजार रुपैयाँ भत्ता बुझेका थिए ।

‘आयोजकले उपस्थिति गराउन फाइल ल्याए, मैले सही गरे,’ मन्त्री खत्रीले भने, ‘लगत्तै आयोजकले खाम थमायो, मलाई थाहा थिएन कि त्यहाँ भत्ता थियो ।’
उनले आफूले भत्ताको लोभ नगरेको बताए । ‘१ हजार रुपैयाँको लोभ मसँग छैन,’ उनले भने, ‘भुलवश त्यस्तो भएको हो ।’