
धनगढी - तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गतको खेलमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जीत हात पारेको छ ।
बुधबार धनगढीको फाप्ला मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई सात रनले पराजित गरेको हो । काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो ।
महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले सर्वाधिक २८ रन बनाए । कप्तान शरद भेषवाकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । आउट हुनुअघि सुब्रमनियन आनन्दले १५ तथा रोहितकुमार पौडेलले १० रन बनाए ।
बलिङतर्फ रसिद खानले तीन तथा अंकित दबासले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १३४ रन बनाएको थियो । काठमाडौंका लागि अंकित दबासले नटआउट ६५ रनको इनिङ खेलेका थिए । ज्ञानेन्द्र मल्ल १४ रनमा पेभेलियन फर्कँदा महेबुब आलमले १३ रन बनाए ।
महेन्द्रनगरका अमर सिंह रौटेलाले २ तथा मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान एक/एक विकेट लिए ।
महेन्द्रनगरको यो लगातार दोस्रो हार हो ।