सप्तरी, २९ फागुन - प्रहरीको गोलीबाट ५ कार्यकर्ताको मृत्यु भएको विरोधमा पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएका छन् ।

गत सोमबार नेकपा एमालेमेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।
प्रहरीको गोली लागेर मृत्यु भएकालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार राज्यले बेहोर्नुपर्नेलगायत मागमा स्थानीय प्रशासनले सहमति जनाएपछि बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ ।