
काठमाडौँ– शनिबार देशभर आंशिकदेखि सामान्य बदली हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । राति पश्चिमी र मध्य भू–भागमा अंशिक बदलि र पूर्वी भू–भागमा सामान्य बदलि रहनेछ । पूर्वी तथा मध्य पहाडी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना छ ।
ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताए । शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुँदै जाने बताइएको छ ।
शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।