०७ असार २०८३, आइतबार

कञ्चनपुरमा भेटिएको साढे २३ किलो सुन सुनौली नाका हुँदै नेपाल भित्रिएको खुलासा

फागुन ५, २०७५
कञ्चनपुरमा भेटिएको साढे २३ किलो सुन सुनौली नाका हुँदै नेपाल भित्रिएको खुलासा

बुटवल – कञ्चनपुरमा गाडिएको अवस्थामा फेला परेको साढे २३ किलो सुन रुपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै नेपाल प्रवेश गरेको खुलासा भएको छ । गएको मंसिर ६ गते बिहान ६ बजेर ३३ मिनेट जाँदा डीएल १० सीएफ ६९२१ नम्बर कार भैरहवा भन्सार कार्यालय, रूपन्देहीमा इन्ट्री गरेर नेपाल प्रवेश गरेको पत्ता लागेको हो ।

प्रज्ञापन पत्र नम्बर ४७३९० मा दर्ता भएर एचएचई हियर प्रालिको कार ४ दिनका लागि अनुमति लिई १ हजार ८ सय ८ रूपैयाँ भन्सार तिरेर नेपालकै दोस्रो ठूलो नाका बेलहिया हुँदै नेपाल प्रवेश गरेको पत्ता लागेको हो । मंसिर ६ गते बिहान तेस्रो नम्बरमा उक्त नम्बरको कार नेपाल प्रवेश गरेको भन्सारले दर्ता गरेको रेकर्डमा भेटिन्छ ।

सुन बरामद गरेको टोलीमा रहेका महानगरीय अपराध महाशाखा काठमाडौंका डीएसपी रुगम कुँवले सुन ल्याएको गाडी सोही नम्बरको भएको पुष्टि गरे । सुनौलीबाट नेपाल प्रवेश गरेको गाडी नेपालगञ्जमा पुर्‍याएर छाडिएको अनुसन्धानका क्रममा पाइएको उनले बताए ।

सुन बोकेको गाडी भैरहवा हुँदै आएको पुष्टि भए पनि उक्त गाडीबारे भन्सारका कर्मचारीदेखि हाकिमसम्म बेखबर छन् । भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीका प्रमुख कमल कुमार भट्टराईले भन्सार गर्नुपर्ने गाडीहरू बाहेक आफूहरूलाई अन्य जानकारी नहुने बताए । 

उनले भने, ‘हामीहरूले यहाँ मालबहाक सवारी साधनको इन्ट्री गरेर त्यसको पैठारी दिन्छौं तर, जिप, कार, भ्यान र मोटरसाइकलका अस्थायी पैठारी ल्याउनेको त्यहाँ इन्ट्री गर्ने कर्मचारीहरूले नै हेर्छन् ।’ 

भन्सार कार्यालयका प्रमुख कात्तिक १५ गते कार्यालयमा हाजिर भएका छन् । त्यसअगाडि भूपाल शाक्य भन्सार कार्यालय प्रमुख थिए । 

भन्सारका प्रवक्ता तथा सूचना अधिकारी कालीराम पौडेलले भने, ‘भन्सारका कर्मचारीले गाडी हेर्छन् । भन्सार नलाग्ने वा यात्रु मात्र भएको गाडी भए हरेर ठीक छ भनेपछि इन्ट्री गर्ने मात्र भन्सारको काम हो ।’

‘हामीले भन्सार नलाग्ने यात्रु मात्र आएको गाडी सामान्य हेर्ने मात्र हो । अन्यथा कहीँ कतैबाट यस्तो सामान आउँदैछ भन्ने सूचना पाएपछि मात्र कडाई गर्छौं । नत्र दैनिक १ हजार भन्दा बढी गाडी नेपाल प्रवेश गर्छन् । ती सबै गाडीको पार्ट–पार्ट हेर्न सम्भव पनि छैन । जनशक्ति पनि भन्सारमा छैन,’ पौडेलले भने ।

गाडी चेकजाँच र इन्ट्री गर्न त्यहाँ कार्यरत ८ जना कर्मचारी पालैपालो बस्छन् । गाडी नेपाल प्रवेश गर्ने दिन र समयमा कुन कर्मचारी थिए भन्ने जान्न खोज्दा भन्सारका कर्मचारीले अवरोध गरे ।

भन्सार कार्यालय बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म पूर्णरूपमा बन्द हुन्छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले आफूलाई घटनाको कुनै जानकारी नभएको बताए ।

‘हो र ? ओहो! मलाई त अहिलेसम्म जानकारी छैन । म बुझ्छु है,’ उनले लोकान्तरसँग भने ।

उनले थपे, ‘हजुरले भनेपछि बल्ल मैले थापा पाएँ, म बुझ्छु, घटनाको बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन ।’

रूपन्देहीकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले पनि आफूहरूलाई यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताइन् ।

उक्त सुन कञ्चनपुरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

पढ्नुहोस्, यो पनि :
निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन !

कमेन्ट गर्नुहोस्