
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बिहीवार देशवासीका नाममा गरेको सम्बोधनका क्रममा गम्भीर तथ्यगत त्रुटि भएको आरोप लगाएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा उल्लेख गरेको गीतका गायक र गायिकाको नाम फरक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दावी गरे ।
'ए कान्छा सुनको तारा खसाइ देउन, सुनको तारा मात्रा होइन जुन खसाइदेउ न' ओलीले सम्बोधनमा उल्लेख गरेको लाक्पा शेर्पा र तारा देवीले गाएको गीतलाई नारायण गोपाल र अरुणा लामाको भनेर भनिएको प्रवक्ता शर्माले टिप्पणी गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, 'के यी हाम्रा योजनाहरू, नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘... त्यो
तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो हो र ?
कांग्रेसले सरकारको एकवर्षको काम तेस्रो श्रेणीमा समेत उत्तीर्ण नभएको आरोप लगाएको छ । कांग्रेसले सरकारको एक वर्ष अलमलमै बितेको बताएको छ ।