११ साउन २०८३, सोमबार

काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा

फागुन ७, २०७५
काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा

जनकपुरधाम– प्रदेश नम्बर २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. वंशी शर्मा मन्त्रालयमा निकै कम उपस्थित हुने गरेका छन् । प्रायः काठमाडौंमा काजमै बस्ने गरेको उनको हाजिरी पुस्तिकाबाट प्रस्ट हुन्छ ।

उनको नेम प्लेट सहितको साइन बोर्डमा बाहिर रहेको संकेत गरिएको हुन्छ । काम विशेषले प्रदेशका आठवटै जिल्लाबाट आउने सेवाग्राही भने उनी अनुपस्थित रहने गरेकै कारण रित्तो हात फर्किन बाध्य भइरहेका छन् ।

२०७५ साल असार १३ गते मन्त्रालयमा हाजिर भएका सचिव शर्मा फागुन ६ गतेसम्म कुल १ सय १३ दिन हाजिर भएका छन्, ९७ दिन काजमा काठमाडौं र अन्य जिल्लामा खटिएको उनी आफैंले उल्लेख गरेका छन् । 

असार १३ गते हाजिर भएका सचिव शर्मा असारमै १६ देखि १८ गतेसम्म काठमाडौं काजमा खटिए । त्यसैगरी साउन महिनामा ४ देखि ८ गतेसम्म र १९ देखि २४ गतेसम्म गरी कुल ११ दिन काठमाडौंमा काजमा बसेका छन् ।

फेरि भदौ महिनामा १ देखि ३ गतेसम्म, ११ देखि १२ गतेसम्म, २६ देखि ३० गतेसम्म गरी कुल १० दिन काठमाडौंमा काजमा खटिएको उनले जनाएका छन् । असोजमा पनि १२ दिन काजमा रहेको हाजिरी पुस्तिकामा देखिन्छ । कात्तिकमा १३ दिन, मंसिरमा २१ दिन, पुसमा ११ दिन, माघमा १५ दिन र फागुनमा १ दिन काजमा बसेका छन् ।

मंसिरमा १ गतेदेखि १७ गतेसम्म वैदेशिक भ्रमणका लागि चीन गएको उनले आफ्नो हाजिरी पुस्तिकामा उल्लेख गरेका छन् ।

प्रायः शुक्रबारदेखि आइतवारसम्म वा सार्वजनिक बिदा हुने दिनको अघिल्लो दिन र पछिल्लो दिनसम्म उनले काठमाडौंमै काज मिलाउने गरेका छन् ।

९७ दिनको काज मध्ये ९० प्रतिशत भन्दा बढी काठमाडौंमै विभिन्न बहानामा उनी काजमा रहने गरेका छन् । बारा, पर्सामा पनि उनले काजमा खटेको जनाएका छन् । फागुन ६ गते हाजिर गरेर हेटौंडा गएका सचिव शर्मा ७ गते पनि मन्त्रालयमा उपस्थित भएनन् ।

प्रदेश २ भित्र पर्ने जिल्लाहरूमा काजमा बसेको दिन नगण्य छ, उनी अधिकांश समय काठमाडौं वा प्रदेश बाहिरकै जिल्लामा काजमा बसेको देखिन्छ । निकै नै महत्त्वपूर्ण मन्त्रालयका सचिव काजको बहानामा यतिका दिन अनुपस्थित रहँदा मन्त्रालयको कामकारवाही उपलब्धिमूलक बन्न सकेको छैन ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव पनि सचिव यसरी पटक–पटक अनावश्यक रूपमा काठमाडौंमा काजमा खटिनु गलत भएको बताउँछन् ।

‘दैनिक सम्पादन हुने प्रशासनिक कार्य सम्पादनमा समेत अत्यन्तै नकारात्मक असर परिरहेको छ,’ राज्यमन्त्री यादवले लोकान्तरसँग भने, ‘सचिवको काज स्वीकृत गर्ने अधिकार माननीय मन्त्रीज्यूको हो । मैले उहाँसँग पनि यस विषयमा पटक–पटक जिज्ञासा राखिसकेको छु ।’ 

मन्त्री शैलेन्द्र साहले पनि सचिवको अनुपस्थितिका कारण कामकारवाही प्रभावित भइरहेको बताए । प्रदेशका प्रमुख सचिवबाट काज स्वीकृत गराएर सचिव अनुपस्थित हुने गरेको उनले जानकारी दिए ।

‘सचिवज्यूले काज मबाट स्वीकृत गराउनुहुन्न । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवज्यूले उहाँको काज स्वीकृत गर्दै आउनुभएको छ,’ मन्त्री साहले लोकान्तरसँग भने ।

मन्त्रालयमा सचिव नै नभएपछि कार्य सम्पादनमा प्रतिकूल असर मात्र परेको छैन, सरकारले तय गरेका कार्यक्रमहरू कार्यान्वयन समेत प्रभावित हुने गरेको मन्त्री साहले बताए ।

‘सचिव काजमा काठमाडौं जाने समस्या मेरो मन्त्रालयमा मात्र छैन,’ मन्त्री साहले भने, ‘सबै मन्त्रालयको त्यही हाल छ ।’

यस सम्बन्धमा मुख्यमन्त्री लालबाबु राउतलाई पनि पटक–पटक जानकारी गराइसकेको उनले बताए ।

व्यक्तिगत कामले गएको होइन - सचिव

सचिव शर्मा भने आफू व्यक्तिगत कामले नभई मन्त्रालयकै कामले काजमा बस्ने गरेको बताए ।

'काजमा जाने भनेको सरकारी कामले नै हो,' उनले लोकान्तरसँग भने, 'आफ्नो व्यक्तिगत कामले जाँदिनँ, मन्त्रालयकै कामले जानुपर्छ ।'

मंगलवार अपराह्न हामीले फोन गर्दा उनी बाटोमै थिए । वातावरणसम्बन्धी एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएर फर्किँदै गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्