
भरतपुर – नेपालमा आँपको उत्पादन अनुसन्धान शुरू गरिएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस चितवनले आँपको उत्पादनमा बढाउन अनुसन्धान शुरू गरेको हो ।
अनुसन्धानपश्चात् नेपालमा मौसमी र बेमौसमी आँपको उत्पादन बढाउन ठोस योजना तयार गरिने राष्ट्रिय आँप सिकाइ केन्द्रका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विश्वविद्यालयले पहिलोपटक आँपलाई नै मुख्य केन्द्र बनाएर राष्ट्रिय आँप सिकाइ केन्द्र स्थापना गरेको छ ।
केन्द्रमार्फत् विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकले विशुद्ध आँपको मात्र अनुसन्धान गर्नेछन् । बर्सेनि आँपको उत्पादन ओरालो लाग्दै गएपछि विश्वविद्यालयले आँपको अनुसन्धानमा जोड दिएको संयोजक श्रेष्ठले बताए ।
रोगकिरा, परम्परागत खेती प्रणालीलगायत समस्याले आँप खेती व्यावसायीकरण हुन नसकेपछि विश्वविद्यालय अनुसन्धानमा जुटेको उनको भनाइ छ ।
नेपालमा पाइने फलफूलमध्ये सर्वाधिक रुचाइने फलफूलमा आँप पर्दछ । यसको माग पनि बढ्दो छ । तर नेपालमा आँपको उत्पादन भने बर्सेनि घट्दो छ । उत्पादन क्षेत्र बढेपनि उत्पादकत्व घट्दै गएपछि यसको अनुसन्धान शुरू गरेको श्रेष्ठले बताए ।
नेपालमा पछिल्लो ५ वर्षको तथ्यांकअनुसार आँपको उत्पादन क्षेत्र बढेर ३८ हजार ३ सय ५३ हेक्टर पुगेको छ । तर उत्पादकत्व भने घटेर प्रतिहेक्टर ७.०५ मेट्रिक टन मात्रै छ । उत्पादकत्व घट्दै गएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी अनुसन्धानकर्तासँग सहकार्य शुरू गरेको छ ।
विश्वविद्यालयले आफ्नो जीवननै आँपको अनुसन्धानमा समर्पित गरेका थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता बोलाएर प्राध्यापक, विद्यार्थी, किसानलाई प्रशिक्षण दिएको छ । थाइल्याण्डको क्यासेसर्ट विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राभी, डा. जेट, डा. लोपले प्रशिक्षण दिइरहेका छन् ।
सोमवारदेखि शुरू प्रशिक्षण बिहीवारसम्म चल्नेछ । प्रशिक्षणमा रामपुर क्याम्पसका प्रध्यापक, विद्यार्थी, नार्कका वैज्ञानिक र कृषि मन्त्रालय अन्तर्गतका कर्मचारी सहभागी छन् ।
अन्तर्राष्ट्रियस्तरको यस्ता कार्यशालाले नेपालमा आँपखेतीमा देखिएका समस्याको समाधान र नियन्त्रणबारे व्यावहारिक ज्ञान प्रदान गर्ने आइफा परियोजनाका कन्ट्री डाइरेक्टर अमर थिङले बताए । नेपालमा पहिलोपटक आयोजना गरिएको सो कार्यक्रमले आँप उत्पादनको क्षेत्रमा कायापलट गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
नेपालमा हाल ६३ जिल्लामा आँप खेती गरिन्छ । तर नेपालमा एउटै बोटबाट बर्सेनि उत्पादन गर्न सक्ने अवस्था छैन । नेपालको आँपमा १ वर्ष बिराएर फल लाग्ने भएका कारण उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन ।
सुक्ष्म अनुसन्धान र नयाँनयाँ प्रविधि भित्र्याउन सकिए नेपालमा आँप खेतीको राम्रो सम्भावना रहेको थाइल्याण्डका आँप अनुसन्धानकर्ताको भनाइ छ । क्यासेसर्ट विश्वविद्यालय थाइल्याण्डका अनुसन्धानकर्ता डा. राभीले नेपालको मौसमअनुसार धेरै मात्रामा आँप उत्पादन गर्न सकिने बताए ।
नेपालमा फलफूल उत्पादनको कूल क्षेत्रमध्ये ३१ प्रतिशत आँपले नै ओगटेको छ तर यसको पूर्णरुपमा व्यवसायीकरण हुन सकेको छैन । नेपालमा पछिल्लो तथ्यांक अनुसार सन् २०१३/१४ मा करीब २२ करोड रुपैयाँको १३ हजार ३५३ मेट्रिक टन आँप आयात गरिएको छ ।
मुख्यगरी सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, कपिलवस्तु, सुनसरी, झापा, मोरङ र पहाडी जिल्ला काभ्रे र धादिङमा आँप खेती हुने गरेको बताइएको छ ।